१७ भदौ, खोटाङ,
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पछिल्लो समय नेपालमा पशुपंक्षीको निर्मम तरिकाले हत्या गर्ने गरिएको समाचार बाहिर आईरहेका छन् । यसले धेरै प्रश्नहरु उब्जाई रहेको छ । यसैबिच भुस्याहा कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयरसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । घरपालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्ममतापूर्वक मारेको भन्दै खोटाङका बाजिन्द्र बिष्ट, स्नेहाज केयरका पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेनरी एसोसिएशनका डा. सिताराम यादवले उजुरी दिएका हुन् । भुस्याहा कुकुर नियन्त्रणमा लिने क्रममा निर्ममतापूर्वक चिरुवा दाउराले टाउकामा कुटेर मारेको भन्दै मेयर दिपनारायण रिजाल, दिक्तेलका खेलराज आचार्य र भोजपुर घर भइ हाल मेयर रिजालको घरमा बस्दै आएका श्रेष्ठ थरका एक जनाविरुद्ध मंगलबार उजुरी परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो ।
चिरुवा दाउराले मुखमा, टाउकामा कुट्ने, झुण्ड्याउने र विषसमेत प्रयोग गरी सार्वजनिक स्थलमा कुकुरलाई मारेको तथा कतिपयलाई अचेत अवस्थामा खाल्डोमा पुरेकाले मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपक्षीसम्बन्धी कसुर बमोजिम अपराध भएकाले कानुनी कारबाहीका लागि उजुरी दिइएको जनाइएको छ ।
नगरपालिकाले भने भुस्याहा कुकुरलाई हैजा लागेर आफै मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्नेक्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले केही व्यक्तिले नियन्त्रण गर्ने क्रममा कुटपिट गरेर मारेको जनाएको छ ।
गएको शनिबार बिहान दिक्तेलको त्रिवेणी चोकमा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो फेसबुकमार्फत सार्वजनिक भएपछि स्नेहाज केयर र नेपाल भेटेनरी एसोसिएशनको टोली दिक्तेल आइपुगेको हो । टोलीले मंगलबार बिहान ६/७ वटा कुकुरको उपचार गरेर जनाएको छ ।