२५ भाद्र, चितवन
नेपाललीको आवाज अनलाईन न्युज डेस्क
चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोध गर्दै आन्दोलनमा उत्रिने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । प्रहरीसँग झडपमा उत्रिएका उनीहरुलाई चितवन मेडिकल कलेज परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। प्रकाशसंगै प्रहरीले प्रकाशसहित १५ विद्यार्थीलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरेको हो ।
सिएमसिमा अध्ययनरत एमबिबिएस, बिडिएस, बिएमएलटी र नर्सिङ सङ्कायमा अध्ययन गर्ने विद्यार्थीहरूले एक जनाबाट १२ लाख भन्दा बढी शुल्क लिएको बताउँदै आएका छन् । आईओएमले उपत्यकामा ४२ लाख र उपत्यका बाहिर साढे ४४ लाख शुल्क लिनु पार्ने प्रावधान गरे पनि अधिकांश मेडिकल कलेजहरूले बढी शुल्क असुल गर्ने गरेका छन् । यसकोविरूद्ध विद्यार्थीहरूले पटकपटक आवाज उठाई रहेपनि कलेजहरूले नसुन्ने गरेको विद्यार्थीहरुको गुनासो छ । केहि समयअघि प्रकाश चन्द नेतृत्वको चिकित्सा शिक्षा संघर्ष समितिले वर्तमान स्वास्थ्य क्षेत्रका विकृति, विसंगतिविरूद्ध संघर्षको कार्यक्रम घोषणा गर्ने बताउँदै आएको थियो ।
विद्यार्थीमाथी लाठी चार्ज
पछिल्लो दिनमा विद्यार्थीहरूले आन्दोलनलाई कडा बनाउन थालेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको हो । बुधवार बिहान मेडिकल अगाडी पुगेका विद्यार्थीमाथि प्रहरी तथा सशस्त्र प्रहरी बलले विद्यार्थीमाथि लाटी चार्ज गरेको हो । चितवन मेडिकल कलेजमा आन्दोलित विद्यार्थीहरुमाथि जिल्ला प्रशासन कार्यालय चितवनले बल प्रयोग गरेको छ । अतिरिक्त शुल्क असुलेको विरोधमा बनेको चिकित्सा शिक्षा संघ्रष समितिले विगत केहिसाता देखि लगातार आन्दोलन गर्दै आइरहेको छ ।
सङ्घर्ष समितिले अतिरिक्त शुल्क र उचित पारिश्रमिकको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै मेडिकल कलेजको अगाडी दिनौ प्रदर्शन गर्दै आइरहेका छन् । समितिले लामो समयदेखि चर्को शुल्क असुलेको भन्दै पटकपटक आन्दोलन गरे पनि यस पटकको आन्दोलन निशर्कषमा पुग्ने गरी जारी राखिएको विद्यार्थीहरूको भनाई रहेको छ ।
विद्यार्थीहरूले शान्ति पूर्ण रूपमा गरेको आन्दोलनमा लाठी चार्जको विषयमा भने जिल्ला प्रशासन कार्यालयले विद्यार्थीहरूले अशान्ति फैलाए लाठी चार्ज भन्दा माथिको विषयमा सोच्न सकिने चितवनका सिडिओ जितेन्द्र बस्नेतको भनाई छ ।