२८ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

चितवनमा शान्तिसुरक्षालाई बजबुत बनाउन सुरु गरेको अप्रेशन क्लिन चितवन अभियानलाई थप बजबुत बनाउदै चितवन प्रहरीले दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारेको सुरक्षा योजना शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठलाई सभ्य तथा सुरक्षित वातावरणमा मनाउन सुरक्षा योजना तयार पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । शान्तिपूर्ण तरिकाले चाडपर्व सम्पन्न गर्न पर्व लक्षित विशेष सुरक्षाका साथै संयुक्त कमान्ड, पिकेट, मोटरसाइकल गस्ती, क्यूआरटी, निरन्तर जाँच, एम्बुस, मोबाइल जाँच, पैदल गस्ती, सादा पोशाक, चोरी, लुटपाट नियन्त्रण विशेष टोली, यात्रु हेल्प डेस्क स्थापनालगायत योजना प्रहरीको रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी एकनारायण कोईरालाले बताए ।

खासगरी, घरेलु मदिरा, जुवातास, लागूऔषध, चोरी र लुटपाट, गुण्डागर्दी, महिला हिंसा, अवैध मालसामान ओसारपसारजस्ता जनगुनासा आउने गरेकाले यसलाई कडाइ अपनाइने डीएसपी शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार यस्तै क्विक रिस्पोन्स टिम (क्युआरटी) को टोली (तत्काल सहयोगको लागि मोटरसाइकल टोली), विभिन्न स्थानमा सिसिटिभी क्यामराले समेत निगरानि राखिने लगायतको सुरक्षा ब्यावस्था रहेको छ ।

चाडवाडको समयमा मानिसको बढी भिडभाड हुने स्थानमा अपराधीले अनुकुल समय पारी घटना घटाउन सक्ने भएकोले त्यस्ता घटनालाई न्युनिकरण गर्न क्युआरटी परिचालन गरिएको हो । उनले जिल्लाको चारै तिर कडा सुरक्षा व्यवस्था रहने भएको कारण प्रहरीले घटनाको खबर पाएको १० मिनेट भित्र घटनास्थलमा पुग्ने दावी गरे ।

यसैगरी बिशेष सुरक्षा ब्यावस्था अन्र्तगत राजमार्गका चल्ने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी ईत्यादी नहुन दिनका लागि हतियार सहित प्रहरी खटाइएको छ । सुरक्षा योजना प्रभावकारी बनाउन र त्रासविहीन वातावरणमा चाडपर्व मनाउन एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको छ। जिल्ला प्रहरी र मातहतका कार्यालयमा गरी ७ सय १५ जना नेपाल प्रहरी चौबीसै घण्टा परिचालन गरिने भएको छ।

पूर्वपश्चिम राजमार्गमा चल्ने रात्रि बसको सुरक्षाका लागि आवश्यकताअनुसार क्रस पेट्रोल वा बसमै हतियारधारी प्रहरीसहितको सुरक्षा प्रदान गर्ने योजना प्रहरीले बनाएको छ।

बढी आर्थिक कारोबार हुने स्थान, सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षाका लागि सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

दीपावली तथा छठ पर्वको नाममा प्रयोग गरिने पटाकाजन्य वस्तु प्रयोग नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। पर्वको फाइदा उठाई हातहतियार, विष्फोटक पदार्थ, पटाका र तस्करीसमेत मौलाउन सक्ने भएकाले सीमामा सुरक्षाकर्मीलाई थप सक्रिय बनाउने प्रहरीको योजना छ।

तपाईको प्रतिक्रिया