१ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवन आउने पर्यटकको लागि नया गन्तब्यको रुपमा जीप लाईन सुरु गरिएको छ । पर्यटन बर्षलाई लक्षित गरि भरतपुर महानगरपालिकामा रहेको जलदेवी सामुदायिक वन उपभोक्ता समुहले नेपालमै सामुदायिक वनमा पहिलो पटक साहसिक खेल जीपलाइन सुरु गरेको छ । जसको एक भव्य समारोहका विच प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्धघाटन गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालन भएको जीपलाइन प्रदेशकै पर्यटन विकासमा ठुलो भूमिका खेल्ने मन्त्री नेपालले बताए । उनले पर्यटन विकासबाट मुलुकको आर्थिक समृद्धि हुने भन्दै वन वन्यजन्तुसंरक्षणमा अग्रसर बन्दै नयाँ नयाँ पर्यटकीय प्याकेज ल्याउन प्रदेश सरकारले पनि पनि विशेष सहयोग गर्ने बताए ।
चितवन घुम्न आउने पर्यटकहरुलाई नयाँ प्याकेजका रुपमा जीपलाइन भएको छ, जलदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशवबहादुर थापाले भने जीपलाइनमा सामुदायिक वन र यसका उपभोक्ताहरुको करिब ७५ लाख रुपैयाँ लगानी छ ।
नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको बसाईँ लम्बाउनका लागि जीपलाइनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । सामुदायिक वन भित्र निर्माण भएको एक हजार ५० मिटर लामो जीपलाइनले आन्तरिक पर्यटकको आकर्षण बढ्ने जलदेवी सामुदायिक वन उपभोक्ता समितिका दावी छ ।
असोज १ गतेदेखि सञ्चालनमा आएको जीपलाइन पूर्ण रुपमा सुरक्षित भएको उल्लेख गर्दै जीप लाइन संयोजक माधव देवकोटाले जीपलाइनमा प्रत्येक व्यक्तिको सात लाख रुपैयाँको विमा गरिएको बताए ।
जीप लाइनका दुई वटा रुट निर्माण गरिएको उल्लेख गर्दै देवकोटाले रुट नम्बर १ को लम्बाइ एक सय ९७ मिटर लामो र रुट २ को लम्बाई एक सय ७५ मिटर लामो रहेको बताए । जीप लाइन खेल्नका लागि नेपालीका लागि पाँच सय रुपैयाँ र ६ सय रुपैयाँ तोकिएको छ भने सार्क मुलुक र सार्क बाहिरका व्यक्तिका लागि फरक फरक शुल्क निर्धारण गरिएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा भरतपुर २ का वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठले जीपलाइनले चितवनको पर्यटन विकासमा नयाँ आयाम थप्ने बताए ।