
महेश पाण्डे
७ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
गरिमा धानको नाम राखेर प्याकीङ गरि बेचिएको धानको बिउ किनेर धान रोपेका किसान ठगिएको प्रमाणीत भएको छ । रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाको उत्पादन तथा नेपालमा यसलाई मार्केटिङ तथा प्याकीङ गरेको सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङले धानको बिउको नाममा ब्यापार मात्र गरेको किसानहरुले आरोप लगाएका छन् ।
चितवन लगाएत देशैभरि अहिले जहां जहां किसानले गरिमा नामक धानको बिउ रोपेका छन सबै ठाउंमा यस्तो समस्या देखिएको रत्ननगर नगरपालिकाका कृषी बिकास अधिकृत प्रवीण लामाले नेपालीको आवाज अनलाईनलाई जानकारी दिए ।
रत्ननगरमा बिशेष गरि वडा नं. ३, ७, १०, ११ र १२ बाट अहिले सम्म बढि उजुरी आएको नगरपालिकाका अर्का कृषी बिकास अधिकृत रुद्र बहादुर शाहिले जाकारी दिए । उनले गुनासो लिएर आउने किसान दिन दिनै बढेको बताउदै अब वडा कार्यालय मार्फत यसको एकिन लगत निकाली किसानलाई क्षतिपुर्ती दिने र दिलाउने कुरामा नगरपालिका लाग्ने बताए ।
मंगलबार आफ्नो पिडा र समस्या लिएर नगरपालिकामा बिल सहित निवेदन दिन पुगेका रत्ननगर १० का धान पिडीत किसान ओम प्रसाद रेग्मीले भने “असारमा उत्पादन बढि होला भनेर गरिमा धान चर्को मुल्यमा किनीयो, आशा पनि थियो राम्रो उत्पादन हुन्छ तर ८०, ९० दिन सम्म पनि कुर्दा धानको बाला लाग्नका लागी बाला पट्याउनु पर्ने हुन्छ त्योनै छैन, यसपाली हामीसंग दशैंमा टिका लगाउन चाहीने चामल पनि नहुने स्थिती भयो । अब हामी चुप लाग्दैनौ यदि हामीलाई सोझो देखेर हेपीएको हो भने संघर्ष समिती बनाएरनै अगाडी बढ्छौ ।”
यसैबिच मंगलबारनै भरतपुरको कृषी बिज्ञ सहितको टोली प्रत्यक्ष धानखेतमा गई अवलोकन समेत गरेको छ । बिज्ञ टोलिले धान निरीक्षण गरेपछि रत्ननगरकै किसान दामोदर पौडेलले यो गरिमा धान नभएको जानकारी दिएको बताए । उनले हामीसंगको कुराकानीमा भने “यो धान गरिमा धान होईन, प्याकीङ गर्दा अर्कै धान हालेर बेचेको जस्तो देखियो, तर पनि केहि दिन कुर्नुस बाला लाग्न पनि सक्छ त्यसपछि केहि भनौला भनेर कृषी बिदले भन्नु भएको छ म अब केही समय कुर्छु त्यसपछि पनि बाला लानेन भने हामी धानको बिउ बेच्ने ब्यापारी र उत्पादकलाई त्यसै छोड्दैनौ ।”
किसाने त्यसै त मल नपाएर बिरक्तिएको बेलामा अब झन बाला पनि नलाग्ने स्थिती भएपछि गरिमा धानको बिउलाई बजारमा ल्याउने सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङ तथा यसलाई उत्पादन गर्ने रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाले किसानलाई सम्पुर्ण क्षतिपुर्ती दिनुपर्ने बताएका छन् । किसानहरुले अब क्षतिपुर्ती मात्र नभई ब्यापारको नाममा ठगिगर्ने ब्यपारी देखी सबैलाई कार्वाही गर्न माग गरेका छन् । रत्ननगरमा साझा एग्रो भेट सेवाले अधिकांश किसानलाई गरिमा धान बेचेको पाईएको छ ।