८ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनको रत्ननगरमा असोज १० गतेबाट सुरु हुने आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक क्लवले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । सो प्रतियोगिताको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
बेल्सीमा रहेको कर्वडहल निर्माण स्थलमा खेल हुनेछ । प्रतियोगिता सम्पन्न गर्न मैदान व्यवस्थापन,प्रचारप्रसार र टिमदर्ताको काम अन्तिम चरणमा पुगेको क्लवका सचिव राजु भट्टराईले जानकारी दिए । पूर्वी चितवन स्पोट्र्स क्लव रत्ननगर ३ ले आयोजना गरेको सो प्रतियोगितामा ३० देखि ५० जिल्ला करिब १०० वटा टिमको सहभागिता रहने छ । तीन दिन सम्म चल्ने सो प्रतियोगितामा ओपन डबल र भेट्रान डवलका खेलहरु हुने छ । रत्ननगरको खेलकुलको विकास र वडा नं ३ मा प्रस्तावित कवर्डहल निर्माणको लागि दवाब सृजना गर्न प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक पुरु खनालले जानकारी दिए ।
प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २५ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक विकास डल्लाकोटीले जानकारी दिए ।
प्रतियोगिताको लागि टिम दर्ता शुल्क खुल्ला तर्फ ४ हजार र भेट्रन तर्फ २५ सय रुपैया कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट तथा सान्त्वना हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा भएको आम्दानी मध्यबाट २० प्रतिशत बजेट अनाथ वालवालिकाको शिक्षका लागि सहयोग गर्ने योजना रहेको क्लवका अध्यक्ष केवल न्यौपानेले बताए । प्रतियोगितामा आयसर ट्याक्टरको आधिकारीक विक्रेता न्यू एसडी अटो ट्रेडिङ ज्यामिरेले प्रयोजन गरेको छ ।