महेश पाण्डे

चितवन- चितवन मेडिकल कलेजमा डाक्टरको लापर्बाहीका कारण एक महिलाको ज्यान गएको छ । सामान्य पेट र छाती दुखेर अस्पताल भर्ना भएकी भरतपुर १८ सरदपुरकी ४० वर्षीया शोभा विकको डाक्टरको लापर्बाहीका कारणले ज्यान गएको परिवारको आरोप छ ।

विकको पेट र छातीमा समस्या आएपछि चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा बिहान ६ बजेको समयमा भर्ना गराइएकोे थियो । अस्पताल भर्ना गरेको २ घन्टामै डाक्टरहरुले विकलाई मृत घोषणा गरेका हुन् ।


छाती तथा पेटमा समस्या आएपछि अस्पताल पुर्याएपछि डाक्टर एलिजा श्रेष्ठले विकलाई हेरेको आफन्तको भनाइ छ ।

आफन्तहरुका अनुसार मुटुसम्बन्धी अनुभवी डाक्टरलाई तत्काल खबर नगरी दुखाई कम गर्ने ईन्जेक्सन दुई/दुई पटक लगाउँदा ज्यान गएको हुन सक्ने आफन्तको आरोप छ ।

यता अस्पताल प्रशासनले आफूहरुले दुखाई कम गर्ने ईन्जेक्सन अवस्था हेरी २ एमजीबाट बढी मात्रामा औषधि लगाइएको स्वीकार गरे ।

अस्पताल प्रशासनले दुखाई कम गर्ने औषधिले पहिलोपटकमा काम नगरेपछि दोस्रोपटक दिइएको बताए पनि मृत्यु भने हृदयाघातका कारणले भएको बताएको छ ।

अस्पतालका सीईओ प्रताप देवकोटाका अनुसार आकस्मिकरुपमा आउने हृदयाघातका कारण उनको मृत्यु भएको हो । उनले यस्तो समस्या कुनै बेला थोरै व्यक्तिमा मात्रै देखिने बताए ।

मृतकका भाइ बाबुरामले अस्पतालमा अनुभवी डाक्टर नभएको र सिकारु डाक्टरले उपचार गर्दा ओभर डोज औषधि चढाउँदा पीडा खप्न नसकेर मृत्यु भएको दाबी गरेका छन् । अस्पतालले उपचारमा लापर्बाही नभउको भन्दै चढाइएको औषधि हेर्न आग्रह गरेको छ ।

‘बिहीबार बिहान ६ बजे अस्पताल पुर्याइएकी शोभाको उपचारमा डाक्टर एलिजा श्रेष्ठले हेरेकी थिइन्, उनले विकको ईसिजी गरेर हेर्दा आफन्तलाई नआत्तिन पनि आग्रह गरेकी थिइन । तर, शोभा भने छट्पटाइरहेकी थिइन’, एक आफन्तले भने ।

मुटुमा समस्या आएर मृत्यु भएको दाबी गर्ने डाक्टरले यदि साँचिकै समस्या नै थियो भने काडियोलोजिस्टलाई किन खबर गरिएन ? भन्ने प्रश्न भाइ बाबुुरामको छ । शोभाले हालसम्म ग्याट्रिकको बाहेक कुनै औषधि सेवन नगरेको र हृदयाघात नभएको उनको दाबी छ ।

आफन्तले लापर्बाहीका कारण बिरामीको ज्यान गएको भन्दै मृतकको शव बुझ्न मानेका छैनन् । मृतकको शव अस्पतालमै राखिएको छ ।

तपाईको प्रतिक्रिया