चितवन । चितवनको भरतपुर ८ स्थित सल्लेनीमा श्रीमानश्रीमतीले आफैँलाई आगो लगाएर आत्मदाह गरेका छन् ।

आपसी झगडाका कारण वादविवाद बढ्दै गएपछि सल्लेनीका ३८ वर्षीय प्रमोद गुरूङ र ३७ वर्षीया सरस्वती गुरूङले पेट्रोल खन्याएर आफैँमाथि आत्मदाह गरेका हुन् ।

भरतपुर ८ का वडा सदस्य तिलक मगरका अनुसार सामान्य झगडाको बीउका कारण एक जोडीको ज्यान गएको हो । आफ्नै ज्यानमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेपछि दुवैलाई उपचारार्थ कीर्तिपुर असपताल लगिएको थियो ।

उपचारको क्रममा सरस्वतीको असोज ८ गते र प्रमोदको असोज ९ गते मृत्यु भएको हो । श्रीमती सरस्वतीको असोज ८ गते नै दाहसंस्कार भएको थियो भने श्रीमान् प्रमोदको शव काठमाडौँबाट ल्याउँदै गरेको जेठान नाता पर्ने मगरले जानकारी दिए ।

असोज ३ गते राति सामान्य निहुँमा झगडा परेपछि अप्रिय खबर सुनेर आफन्तहरु घटनास्थल पुगेर तत्कालै चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । सो अस्पतालमा उपचार सम्भव नभएपछि असोज ४ गते दुवैलाई काठमाडौँ लगिएको थियो ।

झगडा परेपछि मदिरा सेवन गरेका ज्वाइँले आफैँमाथि पेट्रोल खन्याएको र त्यसले बहिनीलाई समेत भेटेपछि सो घटना भएको मगरको भनाइ छ । यी दम्पतीका चार र दुई कक्षामा पढ्ने दुई छोराछोरी छन् ।

श्रीमतीले श्रीमान् बचाउन जाने क्रममा आफूलाई पनि आगो सल्किएको भनी प्रहरीमा प्रारम्भिक जानकारी दिएको चितवन प्रहरीले जनाएको छ ।

सोही घरमा डेढ महिनाअघि पनि कान्छी बुहारीले देवघाटमा पुलबाट हाम फाली बेपत्ता भएको उनले बताए । बेपत्ता उनको अहिलेसम्म कुनै जानकारी नभएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया