सुनिता लामा
चितवन- चितवनकी ६ वर्षीया बालिका हाईड्रोसेफल्स (मस्तिष्कमा जमेको पानी) रोगले ग्रसित हुँदा जीवन र मृत्युको दोसाँधमा छिन ।
उपचारत बालिका आशा अधिकारीको औषधी उपचारका लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरिरहेका छन् । भएको पैसा जति उपचारमा सकिएपछि अधिकारी परिवार सहयोगी हातहरुको खोजीमा भौंतारिरहेका छन ।
जन्मीएको तीन वर्षमा यो रोग लागेको उनी अहिले बोल्न, हिँड्न नसक्ने गरी शारीरिक रुपमा पूर्ण अशक्त भएकी छन् । विगत तीन वर्षदेखि छोरीको जीवनको भीख माग्दै सहयोगको हात फैलाउँदै हिँड्दा अहिलेसम्म जम्मा रु ४ लाख जम्मा भएको बिरामी बालिकाको बाबु रामु अधिकारी बताउँछन् । सहयोगको नाममा कतिपय मिडियाकर्मी र पत्रकारहरुले व्यापार गरेको भन्दै दुःख पोख्छन् ।
“धेरै आए आफू पत्रकार भन्दै फोटो खिचे, भिडियो बनाएर लगे तर सहयोग कतैबाट आएन”, उनी भन्छन्, सबैबाट यसरी निरासा आइपर्दा श्रीमती छोरीलाई लिएर नारायणी नदीमा गएर हामफालेर मर्छु भन्छे । ”
उनका अनुसार हालसम्म उपचारका लागि ५ लाख खर्च भैसकेको र छोरीको उपचारका लागि करिब २५ लाख रुपैयाँ लाग्ने अस्पतालले बताएको छ ।
खैरहनी नगरपालिका वडा नं ३ मा विगत ५ वर्षदेखि अस्थायी बसोवास गर्दै आएका अधिकारी परिवारको आर्थिक अवस्था निकै कमजोर छ । साहुको १३ कट्ठा जग्गा वर्षको ३० हजार रुपैयाँका दरले भाडामा लिएर खेती गर्दै आएका उनको ५ जनाको परिवार सोही जग्गामा सानो टहरामा बसोवास गर्दै आएका छन् ।
खेतबारीको उपजले बिहान बेलुकीको गाँसबासमात्रै ठिक्क हुने अति नै निम्न वर्गीय उनको परिवारलाई २५ लाख जोहो गर्न सकस परेको छ । टिचिङ अस्पताल, वीर अस्पताललगायत नेपालका विभिन्न अस्पताल धाए पनि स्वास्थ्यमा सुधार देख्न नसकिएपछि चिकित्सकले शल्यक्रियाको विकल्प नभएको उनले बताए । हालसम्म रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले रु ५,५ हजार सहयोग गरेको तर कुनै संघसंस्थाले सहयोग नगरेको गुनासो उनको छ ।
बालिकाकी आमा सीता अधिकारीको नाममा एसबीआई बैंक, कुलेश्वर शाखाको खाता नम्बर २१५१५२४१४०२३६१ मा सहयोगस्वरुप रकम जम्मा गरी वा ९८४२६३१०४० र ९८०६८०३६३१ मा सीधा सम्पर्क गरेर सहयोग गरी छोरी बचाइदिन अधिकारी दम्पतीले अपिल गरेका छन् ।