काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् ।

‘ए एण्ड ए’ काठमाडौँ मिडिया प्रालिद्वारा सञ्चालित दैनिक अनलाइन डटकमको शुभारम्भ गर्दै उनले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेकाले निश्चिन्त रहन आग्रह गरे।

उनले भने, “प्रेसलाई नियन्त्रण गर्ने गरी सरकारले कुनै पनि कानून बनाउँदैन”, “हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ । प्रेसलाई नियन्त्रण गर्ने कानून टिक्दैन, हामी नियन्त्रण गर्ने पक्षमा छैनौँ ।”

सङ्घीय संसद्मा पेश भएको मिडिया काउन्सिल विधेयक परिमार्जित हुने विश्वास दिलाउँदै अध्यक्ष दाहालले सो विधेयकलाई संविधानको भावना अनुकूल बनाउने दृढता व्यक्त गरे । स्वतन्त्रताको अर्थ अराजकता होइन भन्दै उनले पत्रकारिता जगत्ले नै छलफल गरेर स्वयं आफैँले स्वनियमन गर्नुपर्नेमा जोड दिए ।

“अहिले सामाजिक केही अनलाइन तथा सामाजिक सञ्जालमा हेर्नै नसक्ने र सुन्नै नसक्ने सामग्रीको प्रस्तुति भएको छ, त्यसलाई सभ्यताको मान्यताद्वारा परास्त गर्नपर्छ”, अध्यक्ष दाहालले भने, “सञ्चार जगत्ले राष्ट्रिय एकतालाई बलियो बनाउने, बिखण्डन होइन, एकढिक्का बनाउने सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने काम गर्नुपर्छ ।” उनले न्यूनतम मान्यताभन्दा बाहिर गएर विचार व्यक्त भएकाप्रति दुःख व्यक्त गरे ।

तपाईको प्रतिक्रिया