चितवन- रत्ननगरमा आयोजना गरिएको आयसर ट्रयाक्टर दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलका विनोद पौडेल र वैकुण्ठ श्रेष्ठको जोडीले जितेको छ ।

रत्ननगर ३, बेल्सीमा रहेको प्रस्तावित कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा चितवनका विधान गुरूङ र राजु थापाको जोडीलाई पराजित गर्दै पौडेल र श्रेष्ठको जोडीले उपाधि जितेका हुन् ।

उपाधि विजेता जोडीले नगद ६१ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक पुरू खनालले जानकारी दिए । उपविजेता गुरूङ र थापाको जोडीले ३१ हजार पुरस्कार, शिल्ड र मेडल प्राप्त गरेको उनले बताए ।

भेट्रानतर्फ कैलालीका वीरेन्द्र विष्ट र सुरेश बमको जोडी विजयी भयो । फाइनल प्रतिस्पर्धामा बुद्धि चौधरी र सुरेशकुमार श्रेष्ठको जोडीलाई पराजित गर्दै विष्ट र बमले भेट्रानतर्फको उपाधि जितेका हुन् । विजेता जोडीले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार, शिल्ड र मेडल प्राप्त गरेको अर्का संयोजक विकास डल्लाकोटीले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका विनोद पौडेलले नगद ५ हजार पुरस्कार पाए ।

खेलकुदको विकासका लागि रत्ननगर ३ मा रहेको पूर्वी चितवन स्पोटर््स क्लबले प्रतियोगिताको आयोजना गरेको हो । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ३ का मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया र क्लबका अध्यक्ष केवल न्यौपानेले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा आयोजक क्लबले प्रतियोगिताका संयोजकहरु पुरू खनाल र विकास डल्लाकोटीलाई सम्मानसमेत गरेको थियो । प्रतियोगितामा देशभरका ५९ टिमको सहभागिता रहेको क्लबका सचिव राजु भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया