रत्ननगर १३ असोज । पूर्वी चितवनको रत्ननगरका चारवटा वडालाई लक्षित गरी दुध उत्पादन,बजारीकरण र विविधिकरणको लागि परियोजनाले काम सुरु गरेको छ । हेफर इन्टरनेशलन नेपालको सहयोगमा महिला समन्वय समिति चितवनले पशु बस्तुको मुल्य श्रंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण नाकम सो परियोजना सुरु गरेको हो ।

शान्तिकुञ्ज सामाजिक महिला उद्यमी सहकारी संस्थालाई केन्द्रविन्दु बनाएर वडा नं १०,११,१२ र १३ का पशुपालक किसानको हित काम गर्ने गरी परियोजना सुरु भएको रत्ननगरका मेयर नारायण वनले बताए ।

पशुपालनको विकास,दुधको उत्पादन बृद्धि,परिकार निर्माण र पशुको उपचारमा सहयोग गर्ने गरी परियोजना सुरु भएको मेयर वनले बताए । शान्तिकुञ्ज सहकारी मार्फत किसानको दुध संकलन,दुघको परिकार बनाउने,पशुको आहार उत्पादन गर्ने,पशु भ्याक्सीन कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक सीता पौडेलले जानकारी दिइन ।

परियोजनाको व्यवस्थित सञ्चालनको लागि सोमवार रत्ननगरका मेयर नारायण वन अध्यक्ष रहेको परियोजना व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष उपमेयर विमला दुवाडी,सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल र सदस्यहरुमा वडा नं १० का वडाध्यक्ष केशव आचार्य,११ का वडाध्यक्ष शशिभक्त न्यौपाने,१२ का वडाध्यक्ष बीरबहादुर पाख्रिन,१३ का वडाध्यक्ष चित्रबहादुर भण्डारी,आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,कार्यपालिका सदस्यहरु निर्मला खड्का,मानकुमारी विक,सामाजिक विकास अधिकृत विश्वास श्रेष्ठ,पशु पंछी शाखा प्रमुख शालिग्राम पौडेल,शान्तिकुञ्ज सामाजिक महिला उद्यमी सहकारी संस्थाकी उपाध्यक्ष निर्मला दंगाल,हेफरका कार्यक्रम निर्देशक सकुन्तला रसाइली,समन्यन समितिकी अध्यक्ष गोमादेबी भट्टराई रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले गरिव तथा विपन्न बर्गका किसानहरुको उत्थानको लागि कार्यक्रम केन्द्रित गर्न निर्देशन दिएका छन । उपमेयर विमला दुवाडीले परिणाममुखी काम गरेर पशुपालनको विकासमा उदाहरणीय बन्न परियोजनालाई आग्रह गरिन ।

तपाईको प्रतिक्रिया