रसुवा । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजी तीव्ररूपमा अगाडि बढेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भ्रमणका क्रममा हराइरहेका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाली ४२ वर्षीय सिसुङकोे खोजीका लागि नेपाल प्रहरीका तालीमप्राप्त तीन कुकुरसमेत परिचालन गरिएको छ ।

उनीहरू असोज ५ गते बिहान ९ः०० बजे तामाङ सम्पदा पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएका बुझिएका कारण आसपासका क्षेत्रमा व्यापक खोजी गर्न प्रहरी नायब उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । पर्यटकीय पदमार्गको बृद्विम, टिमुरे तथा लाङटाङ क्षेत्रमा दर्जनौँ सुरक्षाकर्मी यही असोज ९ गतेबाटै परिचालित गरिएको छ ।

पर्यटक प्रहरी चौकी स्याफ्रुबेँसीको अभिलेखअनुसार ती पर्यटक भदौ २७ गते रसुवाको स्याफ्रुबेँसीमा बास बसी गत भदौ २८ गतेदेखि तामाङ सम्पदा पदमार्गतर्फ गएका थिए ।

तामाङ सम्पदामार्ग उत्तरी रसुवाको गोल्जुङ, गतलाङ, पार्वतीकुण्ड, चिलिमे, तातोपानी, नाकथली, थुमन र बृद्धिमको भूभागले मान्यता पाएको र ती क्षेत्रमा भारी वर्षा तथा निरन्तर प्रतिकूल मौसमको प्रवाह नगरी खोजीकार्यमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

यस्तै सशस्त्र प्रहरी बल २० नम्बर गुल्म धुञ्चेका प्रहरी अधिकृत तथा जवानसमेत खोजी तथा उद्वारमा परिचालन भएको सशस्त्र प्रहरी नीरिक्षक होेमनाथ नेपालले बताए ।

तपाईको प्रतिक्रिया