काठमाडौं । सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब बढेको छ । यौन दूराचारको आरोप लागेका महरालाई सांसद पदमा बहाल रहन दिइराख्दा पार्टीको साख गिर्ने भन्दै नेकपाका केन्द्रीय नेताहरूले सांसद पदबाटै हटाउनुपर्ने माग गरिरहेका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पार्टीले नै दुवै पदबाट राजीनामा दिन भनिसकेकाले उनले सांसद पदबाट राजीनामा दिने बताउँछन् । “मङ्गलबार पार्टी सचिवालय बैठकले निर्णय गरेरै उहाँलाई दुवै पटबाट राजीनामा दिन भनिसकेको छ । सभामुख पदबाट राजीनामा आइसकेको छ । सांसद पदबाट पनि राजीनामा दिनुहुन्छ, दिनुपर्छ,” उनले भने ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि मङ्गलबार महरा अब पार्टीको नजरमा सांसद नरहेको बताएका थिए । कानुनवेत्ता, संविधानसभाका पूर्व अध्यक्षसमेत रहेका नेम्वाङले पार्टीले नै राजीनामा दिन भनिसकेकोले उनलाई दलले सांसदको रूपमा नचिन्ने तर्क गरेका थिए ।

संसद् सचिवालयले आज सूचना टाँस्ने

नेम्वाङले सभामुखले राजीनामा दिएको सूचना संसद् सचिवालयले आज टाँस गर्ने सम्भावना रहेको बताए । प्रतिनिधिसभा नियमावलीमा सभामुखले उपसभामुखलाई सम्बोधन गरेर राजीनामा गर्ने र उपसभामुखले संसद् बसेको बेला संसदमा पढेर सुनाउने व्यवस्था छ । बैठक नबसेका बेला भने सूचना टाँस गरेर जानकारी दिनुपर्छ ।

संसद्को अधिवेशन नचलेका बेला संसद् सचिवालयले सूचना टाँस गर्छ । र, बुधबार टाँस गर्ने सम्भावना रहेको र कर्मचारीले तयारी गरिरहेको नेम्वाङको भनाइ थियो ।

तपाईको प्रतिक्रिया