चितवन । असोज २९ गतेबाट आयोजना हुन लागेको प्रथम राप्ती महोत्सवको तयारी तिव्र पारिएको छ । बुधबार भण्डारामा बसेको मुल समारोह समितिको बैठक तथा अन्तरक्र्रियामा संयोजक राजकुमार कँडेलले महोत्सवको तयारी युद्धस्तरमा भइरहेको जानकारी गराए ।

उनले महोत्सवको भौतिक संरचनाका कामहरु तिव्र गतिमा भइरहेको बताउदै अन्य प्रशासनिक तथा कानुनी प्रक्रियाहरु पनि पुरा भइसकेको बताए । उनले कृषिलाई बिशेष प्रथामिकता दिइने भएकाले सोहिअनुरुप तयारी भइरहेको जानकारी दिए । कृषिका स्टलहरु महोत्सव परिसरको अग्रभागमै प्रथामिकताका साथ राखिने उनले बताए ।

विभिन्न जातजातिको पहिचान झल्कने प्रस्तुतिहरु रहने महोत्सवमा चेपाङ, थारु र मगर जातिको साँस्कृतिक घर निर्माण भइरहेको उनको भनाई छ । सो क्रममा महोत्सवका संरक्षक तथा राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले कृषिसँगै स्थानीय उत्पादनलाई जोड दिन आग्रह गरिन् । घरेलु उत्पादनका रोटी, अचार, फलफुल लगायतको ब्यवसायिक प्रबद्र्धन गर्न महोत्सव उपयोगी रहने भन्दै उनले महिलाहरु यस बिषयमा सक्रिय हुनुपर्ने बताइन् ।

महोत्सवका सल्लाहकार तथा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहँ लामाले महोत्सवले नगरको पर्यटन, कृषि र ब्यापारको प्रबद्र्धनमा उल्लेख्य योगदान पुर्याउने भएकाले नगरबासी एकजुट भएर सफल पार्नुपर्ने बताए । उनले पर्यटकलाई सुरक्षा, सुविधा र रमणीय दृश्यले आकर्षित गर्ने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए ।
महोत्सवको सुरक्षा उपसमितिका संयोजक श्याम पाठकले सुरक्षाको हिसाबले महोत्सव चुस्त बनाइने बताए ।

सिसि क्यामेरा, सुरक्षाकर्मी परिचान, सेक्युरीटी गार्डको ब्यवस्था हुने भएकाले दर्शक बिश्वस्त हुन सक्ने उनको दाबी छ । त्यस्तै स्थानीय तथा राष्ट्रिय कलाकाहरुको प्रस्तुतिमा दर्शक झुम्न सकिने साँस्कृतिक कार्यक्रम संयोजक प्रदिप उप्रेतीले जानकारी दिए । बद्रि पंगेनी, पशुपति शर्मा, खुमन अधिकारी, रामजी खाँण, प्रमोद खरेल लगायत ख्यातिप्राप्त कलाकारहरु महोत्सवका मुख्य आकर्षण रहने उनले बताए ।

पहाडी तथा तराई भुभाग रहेको नगरपालिकाका सम्पुर्ण नगरबासी र आसपासका छिमेकि जिल्लाबासीलाई महोत्सवमा सहभागी गराउन तिव्र प्रचार प्रसार भइरहेको प्रचारप्रसार समितिका संयोजक दिनेश सेढाइले जानकारी दिए । अन्तरक्रियामा विभिन्न संघसंस्थाका प्रमुख, राजनितिक दलका प्रतिनिधि, समाजिक अगुवाहरुले शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै क्षेत्रलाई समेट्दै कार्यक्रमहरु राख्नुपर्ने सुझाव दिए । असोज २९ गतेदेखि कार्तिक ९ गतेसम्म सञ्चालन हुने महोत्सव राप्ती नगरपालिका र राप्ती उद्योग बाणिज्य संघले आयोजना गरेको हो । महोत्सवको पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दहालले समुदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया