काठमाडौँ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाही (आफैँले परिचय खुलाएकाले नाम उल्लेख गरिएको) माथि बलात्कार गरेको आरोप लागेर सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएको छ ।

पीडित रोशनीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार किटानी जाहेरी दिएकी हुन् । आइतबार घटनालगत्तै सोमबार हाम्राकुरा डमकमका सम्पादक अजयबाबु सिवाकोटीलाई भिडियो अन्तर्वार्ता दिएकी उनले तीव्र दबाबका बीच चौबीसघन्टा नबित्दै बयान फेरेकी थिइन् ।

अकस्मात् उनले बयान फेरेपछि प्रहरी आफैँ अन्यौलमा परेको थियो । महरालाई पक्राउ गरी कारबाही गर्नुपर्ने विषयमा चौतर्फीरुपमा आवाज उठे पनि नेकपा भने मौन थियो । यतिसम्म कि महिला अधिकारको चर्को आवाजमा कुर्लिने महिला नेतृसमेत मौन नै रहे ।

घटना घटेको छैटौँ दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीको प्राविधिक अनुसन्धानका क्रममा महरा आइतबार रोशनीको कोठामा गएको पुष्टि भएको छ ।

महरा प्रकरणपश्चात् शाही दम्पती सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेको स्टाटस रोशनीका श्रीमान् चित्रजंग शाहीले फेसबुकमार्फत सार्वजनिक गरेका थिए । बिहीबार शाही दम्पतीले दुवैले उजुरी दर्ता गराएको स्रोतले जनाएको छ । पीडित रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षणसमेत भएको बताइएको छ ।

आफूमाथि बलात्कारको गम्भीर आरोप लागेपछि राजीनामा दिएका महराले आफू रोशनीको कोठामै नगएको दाबी गरे पनि आइतबार साँझ महराले रोशनीसँग पहिलो टेलिफोन सम्पर्कदेखि कोठामा पुगेको र निवासमा फर्किएसम्मको सबै प्रमाण समेटिएको सीसीटीभी फुटेज प्रहरीले सुरक्षित राखेको छ ।

पीडित महिलाले आफू महराबाट बलात्कृत भएको भन्दै प्रहरीको १०० नम्बरमा खबर गरेकी थिइन् । खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा बाहिरिसकेका थिए ।

प्रहरीले घटनास्थलबाट आधा बाँकी रहेको रक्सीसहितको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।

अनुसन्धान अघि बढाउन गृहमन्त्रीको निर्देशन

यसैबीच, महरामाथि अनुसन्धानका लागि चौतर्फीरुपमा दबाब र विरोध बढेपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरी अधिकारीलाई बोलाएर महराको अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

बैठकमा आईजीपी सर्वेन्द्र खनाल, डीआइृजी शैलेश थापा क्षेत्री, एसएसपी उत्तमराज सुवेदी र प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीको सहभागिता रहेको थियो । बैठकमा कुनै डरत्रासविना अनुसन्धान अघि बढाउन गृहमन्त्रीले निर्देशन दिएका थिए ।

पीडितको जाहेरी आइसकेकाले महरालाई पक्राउ गर्ने तयारी भइरहेको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १५ करणीसम्बन्धी कसुरको दफा २२४ को उफदफा ९१० मा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनु नहुने उल्लेख छ । जबरजस्ती करणी उद्योग गरेको पुष्टि भए महरालाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ ।

तपाईको प्रतिक्रिया