काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ मा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति निकाली चिनियाँ राष्ट्रपति सी आगामी शनिबार काठमाडौं आउने जानकारी दिएको हो ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सिले २५ र २६ गते नेपाल भ्रमण गर्ने परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ । राष्ट्रपति सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ ।

करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । काठमाडौंको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने छ ।

यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउने बताइएको छ ।

राष्ट्रपति सीको नेपाल र भारत भ्रमणको मिति र कार्यक्रमबारे चिनियाँ विदेश मन्त्रालय, भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले एकै समयमा सार्वजनिक गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी सीको भ्रमणबारे औपचारीक जानकारी दिएको थियो । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङले राष्ट्रपति सीले अक्टोम्बर ११ देखि १३ सम्म भारत र नेपालको भ्रमण गर्ने जानकारी दिएका हुन् । भारतीय विदेश मन्त्रालयले पनि पत्रकार सम्मेलन गरी सीको भ्रमणको बारेमा जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया