
चितवन २३ असोज । चितवनका कुखुरा व्यवसायीले शुक्रवार २४ औं विश्व अण्डा दिबस मनाउदै छन । कुखुरा व्यवसायी संघ पूर्वी चितवनले रत्ननगरमा विशेष कार्यक्रमको आयोजना गरी अण्डा दिबस मनाउन लागेको हो । अण्डाको महत्वको बारेमा उपभोक्तालाई जानकारी दिँदै अस्पतालमा उपचारत विरामीलाई अण्डा वितरण,प्रभातफेरी तथा उपभोक्तालाई अण्डाका १५ परिकार खुवाएर अण्डा दिबस मनाउन लागिएको संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।
संघले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी दिवसको अबसरमा गर्ने कार्यक्रमको तयारीका बारेमा जानकारी दिएको हो । अण्डाबाट पाइने पोष्टिक तत्व र अण्डाको परिकारका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विसुरालले बताए ।
प्रभातफेरी पछि आयोजित कार्यक्रममा उपभोक्ताहरुलाई अण्डाको १५ परिकार निशुल्क रुपमा खुवाउने व्यवस्था मिलाइएको छ । शुक्रबार विहान रत्ननगर अस्पतालमा विरामीहरुलाई निशुल्क अण्डा वितरण गर्ने , अस्पतालबाट सौराहा चोकसम्म प्रभातफेरी गर्ने र सौराहा चोक नजिक रहेको लायन्स फुडल्यान्डमा विशेष कार्यक्रम हुने कार्यक्रम संयोजक रघुनाथ भट्टले जानकारी दिए ।
प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बिज्ञ तथा डाक्टरहरुबाट मानव जीवनमा अण्डाको उपयोगिता र फाइदाको बारेमा कार्यपत्र समेत प्रस्तुत हुनेछ । नेपालमा दैनिक ५० लाख अण्डा उत्पादन हुन्छ । उत्पादनको अनुपात हेर्दा खपत भने कम रहेको छ । दैनिक खपत ४० लाख हुने भएकाले अण्डाको महत्व बुझाउन जरुरी रहेको संघका सचिव पुरु खनालले बताए । संघका उपाध्यक्ष दोर्ण लामिछाने अण्डाबाट पाईने प्रोटिनको विषयमा उपभोक्ता स्तरमा चेतना फैलाउन नसकेका कारण अण्डाका खपत कम भएको बताए ।