
चितवन । चितवन यूवा समूह (अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल)को छैठौं साधारण सभा तथा तेस्रो विश्व सम्मेलन असोज २६ गते आइतबार भरतपुरमा हुने भएको छ । जिल्ला समन्वय समिति चितवनको सभाहलमा हुने सम्मेलनको पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहालले समुद्घाटन गर्ने छन् ।
भरतपुरमा आज पत्रकार सम्मेलन गरी आयोजकले सम्मेलनमा तयारी पुरा भएको जनाएको छ । चितवन यूवा समूह (अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल) का अध्यक्ष मुक्तिप्रसाद अधिकारीले सम्मेलनमा ९ देशका समन्वय समितिका प्रतिनिधि गरी २५० जना प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिए । यस्तै सम्मेलनमा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको समेत उपस्थिति हुने उनले जानकारी दिए । अध्यक्ष अधिकारीले सम्मेलनमा संस्थाले गरेका कार्य बारे समिक्षा हुनुका साथै भावी योजना बारे वृहत छलफल गरिने जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका सचिव गणेश ढकालले विदेशमा परेको चितवनबासी र अन्य नेपालीहरुको दुःख सुखमा साथ दिँदै आएको बताए । उनले थुप्रै नेपालीलाई उद्धार गर्नुको साथै आर्थिक सहयोग गर्दै आइरहेको बताए ।
यस्तै संस्थाका कतार अध्यक्ष रामहरि गैरेले संस्थालाई अन्य देशहरुमा समेत विस्तारको तयारी थालिएको बताए । उनले नेपालीहरुको बाक्लो बसोबास रहेको अष्ट्रेलिया र अमेरिकामा समेत विस्तारको तयारी भइरहेको बताए । उनले नेपालीहरुलाई परेको दुःख, सुखमा साथ दिनका लागि संस्था स्थापना गरिएकोले सोही अनुसार काम गर्दै आइरहेको बताए ।
संस्थाका प्रवास संयोजक समिर केसीले सबै चितवनबासी नेपालीलाई एकजुट बनाउने प्रयास भइरहेको बताए ।