
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या ८ पुगको छ भने ४० यात्रु घाईते भएका छन् । इन्द्रावती गाउँपालिका- १० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलमै ६ जनाको र २ को अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन । उद्धारकार्यमा खटिरहेका भोटसिपाकै स्थानीय नविन गिरीकाअनुसार शव र घाइतेको धमाधम उद्धार भइरहेको छ। ‘एम्बुलेन्स नपाइएपछि घाइतेलाई यात्रुबस, बोलेरो सवारीबाटै उपचारर्थ लगिँदैछ, ५ शव निकालिएको छ भने, एउटा भित्रै चेपिएको छ,’ गिरीले भने ।
बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो। उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो ।
गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘थप विवरण आउन बाँकी छ ।,’कच्ची सडक र क्षमताभन्दा बढी यात्रु चढाएका कारणले दुर्घटना भएको अनुमान छ।
यो खबर कान्तीपुरबाट लिईएको हो ।