काठमाडौं । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ । प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो ।
सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मी प्रसाद सुवेदीले हस्ताक्षर गर्नुभयो । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ । सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य सुरु गर्नेछ ।
आयोजना निर्देशक प्याकुरेलले सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्प जानुअघिको भन्दा मजबुद हुने गरी प्रबलीकरण गरिने जानकारी दिनुभयो ।
ठेक्का कम्पनीका प्रतिनिधि सुवेदीले तोकिएको गुणस्तरमा समयभित्रै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रबलीकरण कार्यको परामर्शदातामा आइआरसी–इकोकोड नेपाल जेभी छनौट भएको छ ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको सिंहदरबारको यो खण्ड २०३० को आगलागीबाट बचेको भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण मोहडा जलेर नष्ट भएको थियो, जसको पछि पुनर्निर्माण गरिएको थियो । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।