चितवन , २७ असोज ।

चितवन । राप्ती नगरपालिका वडा नम्वर ४ मा निर्माण गर्न लागिएको इको टुरिजम पार्कको शिलान्यास गरिएको छ । सोमबार प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पार्कको शिलान्यास गरे । उद्घाटनसंगै बिदा मनाउनेका लागि उत्कृष्ट गन्तव्य बन्ने निश्चित भएको देखिएको छ । कृषि मन्त्रीकै पहलमा शिखर हरियाली सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पार्क निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री लामाले पार्क निर्माणपछि पूर्वी चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य वन्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले प्राकृतिक सम्पदालाई सही सदुपयोग गर्न सके चितवनमा पर्यटनबाट प्रशस्त लाभ लिन सकिने वताए ।

वनको १३ विगाहा क्षेत्रफलमा करिव साँढे ५ करोडको लागतमा पार्क निर्माण गर्न लागिएको शिखर हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केदार प्रसाद आचार्यले जानकारी दिए । पार्क परिसरमा स्वीमिङ पुल,चिल्ड्रेन पार्क,फुलको वगैचा,पानीको फोहोरा,पिकनिक स्पट,आरामका लागि गोलघर,विजुलीको व्यवस्था हुने निर्माणको जिम्मा पाएको सेभ इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिका संचालक भीष्म अधिकारीले वताए । १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ । वनका अध्यक्ष केदार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्वर ३ का मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलिया,राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा, तत्कालिन जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेल, वनका सचिव लक्ष्मी सेढाई लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया