काठमाडौँ । जनकपुर विमानस्थलभित्र रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् ।
प्रहरी अपराध महाशाखा काठमाडौँको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक)बाट आज पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न आजै महोत्तरी जिल्ला अदालतले अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले साहलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए । समयमा जहाज नआएको भन्दै सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेको बताइएको छ ।
सोमबार बिहान ११ः४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनी आवेशमा आएका थिए । व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दुःख पाएको भन्दै उनी बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेका थिए ।
अढाइ बजे बुद्ध एयरको जहाज विमानस्थलमा आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन् । तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौँ उडाएका थिए ।
घटनापछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको थियो ।