काठमाडौं २७ असोज । गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । एनआरएनएको अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन । पन्त र आचार्यले दुई छुट्टा छुट्टै टिम बनाएर चुनाबी मैदानमा होमिएका हुन ।
संघको विश्वसम्मेलनको उदघाटन आज (मंगलबार)राष्ट्रपति विद्यादेवी भण्डारी बाट भएको हो । संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १÷१ जना निवाचित हुने काठमाडौंबाट पत्रकार रवि रोषीले जानकारी दिए ।
प्रत्येक क्षेत्रीय समितिबाट एकरएकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।
त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २÷२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १÷१ जना क्षेत्रीय उपसंयोजकमा निर्बाचित हुन पाउने छन् । प्रत्येक क्षेत्रबाट १÷१ जनाका दरले ६÷६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।
काठमाडौंमा सम्मेलन उद्घाटनको भोलिपल्ट अर्थात बुधबार उम्मेदवारको मनोनयनदर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ । बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घण्टामा मतगणना गर्ने समितिको सूचनामा उल्लेख छ ।
एनआरएनएको आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य चुनावी मैदानमा छन् । संघको आठौँ अन्तरराष्ट्रिय महाधिवेशनमा दुबैजना उपाध्यक्ष पदमा विजयी बनेका थिए । गैरआवासीय नेपाली संघको २००३ (२०१७ को संशोधन) सहितको विधानअनुसार इतिहासमै पहिलोपटक ५ जना उपाध्यक्ष पदमा (महिलासहित) निर्वाचन हुन लागेको हो । यसअघि प्रायः सहमतिमा उपाध्यक्षको चयन हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया