काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि मतदान सुरु भएको एकघन्टा नबित्दै भोटिङ मेसिनले काम नगरेपछि चुनाव स्थगित भएको छ ।

निर्वाचन समितिले साँझ ५ बजेदेखि १० बजेसम्म मतदान गर्न तालिका सार्वजनिक गरेकोमा सुरुवातदेखि नै विवाद बढेपछि निर्वाचन कार्यक्रम नै आठ बजेपछि सुरु भएको थियो ।

ढिलाइ भए पनि मतदान भइरहेको थियो । तर, एकघन्टा जति मतदान भइसकेपछि भोटिङ मेसिनमा खराबी आएपछि मतदाता निकै आक्रोशित बनेका थिए ।

यस वर्षको विश्वसम्मेलन उद्घाटनअघिदेखि नै अस्तव्यस्त रहेको थियो । निर्वाचन व्यवस्थित हुन नसक्दा विवाद उत्पन्न भएको थियो ।

ढिलोगरी निर्वाचन सुरु भए पनि रातिसम्म भए पनि आजै नतिजा आउनेमा मतदाता ढुक्क थिए । तर, एकघन्टा नबित्दै मतदान गर्ने मेसिन बिग्रिएपछि चुनाव नै बदर भएको छ ।

निर्वाचनमा सिस्टमले काम नगरेका कारण भोलि बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया