चितवन । राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा मंगलबार प्रमोद खरेललाई हेर्न दर्शकको बाढी आएझैँ भएको छ ।

महोत्सव प्रर्वद्धन समितिका संयोजक दिनेश सेढाईंका अनुसार शनिबारमात्र दशौँ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । उनका अनुसार दर्शकको बाक्लो उपस्थितिले महोत्सवमा व्यापारसमेत उल्लेख्य वृद्धि भएको छ ।

महोत्सवको कृषि परिसर, विभिन्न व्यावसायिक स्टलहरु, बालउद्यान, जातजातिको घरलगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो ।

महोत्सवमा रहेको सेल्फी जोनमा दर्शकहरु झुम्मिएका छन् । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले बनाइएको सेल्फी जोनमा तस्बिर लिनेहरुको भीड लागेको छ । त्यस्तै मगर, चेपाङ र थारु जातिको साँस्कृतिक घरमा समेत दर्शकको भीड छ । चेपाङ घरमा चेपाङले खाने कन्दमुल गिठासमेत दर्शकहरुले खाने गरेका छन् ।

साँस्कृतिक कार्यक्रममा पनि दर्शक ओइरिएका छन् । आज चर्चित गायक प्रमोद खरेलको विशेष प्रस्तुति रहेको थियो । प्रमोदसँगै उमादेवी खनाल, खुश्बु खडका, बेबु आचार्यलगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

साँस्कृतिक कार्यक्रमअन्तर्गत आज बुधबार चर्चित गायक प्रकाश सपुत, गायिका प्रीति आलेलगायतको प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम संयोजक प्रदीप उप्रेतीले जानकारी दिए ।

राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आयोजित महोत्सवको गत बिहीबार पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । विभिन्न २५० वटा स्टलहरु रहेको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रर्वद्धन र नगरको पर्यटकीय विकासमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया