
महेश पाण्डे
चितवन ।
रत्ननगर उद्योग वाणिज्य संघमा सदस्यता विवाद सतहमा आएको छ । रत्ननगर उद्योग वाणिज्य संघमा लगातार तीन वर्षसम्म सदस्यता नवीकरण नगरेका सदस्यलाई खारेज गर्ने या नगर्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि यो विवाद सतहमा आएको हो ।
रत्ननगर उद्योग वाणिज्य संघमा हाल २३ सय ९६ जना सदस्य रहेको भए पनि १ हजार ४३ जनाले आफ्नो सदस्यता नवीकरण नगर्दा स्वतः खारेज हुने अवस्थामा पुगेको देखिन्छ ।
यही विषयले गम्भीर रुप लिएपछि मंगलबार बस्ने भनिएको कार्यसमिति बैठक केही कार्यसमितिका पदाधिकारी वा सदस्यले बहिस्कार गरेको पाइएको छ ।
उद्योग वाणिज्य संघको विधानलाई हेर्दा बुँदा नं १९ अन्तर्गत ११ ‘ख’ अनुसार तीन वर्षसम्म सदस्यता नवीकरण नगरे स्वतः खारेज हुने प्रवधान रहेको छ । मंगलबार बस्ने भनिएको बैठकमा केही व्यवसायी उपस्थित नभए पनि उपस्थित कार्य समिति सदस्य र संघका अध्यक्ष राजाराम रेग्मीबीच विवादसमेत भएको थियो ।
बैठक बहिस्कार गर्ने केही सदस्यले भने सदस्यता नवीकरण नगर्ने सदस्यमात्र अध्यक्ष बन्नको लागि भित्र्याइएको सदस्य भएकोजस्तो देखिएकोले कुनै हालतमा म्याद सकिएकाको नवीकरण गर्न नदिने बताए । आफ्नो सदस्यता नवीकरण नगर्ने सदस्यहरु खैरहनी र राप्ती नगरपालिकाका रहेका छन् ।
मंगलबार बिहानको बैठकमा अध्यक्ष रेग्मीले बैठकमा तीन वर्षसम्म नवीकरण नभएका सदस्यलाई नवीकरण गर्न समय माग गरेको बुझिन्छ । तर हामीसँग कुरा गर्दा भने संघका अध्यक्ष रेग्मीले तीन वर्षसम्म नवीकरण नगरेका सदस्यको सदस्यता स्वतः खारेज हुने बताए ।
यतिबेला संघमा एक पक्ष समय थप गरेर सदस्यता नवीकरण गरिनुपर्ने धारणा राख्दै आएका छन् भने अर्को पक्ष विधानलाई मान्नुपर्ने अडानमा रहेको बेला अध्यक्ष रेग्मीले विधानलाई नै मान्ने बताएका हुन् ।
संघको सदस्य रहेर आर्थिक वर्ष ०७४/०७५, ०७५/०७६, ०७६/०७७ सम्ममा आफ्ना सदस्यता नवीकरण नगर्ने सदस्यहरु एक हजार ४३ रहेका छन् । अब खारेज भएका सदस्यहरु संघमा आउन शुल्क तिरेर नयाँ सदस्यको रुपमा आउनुपर्ने हुन्छ ।