रत्ननगर । रत्ननगर ५ मा रहेको झुवानी सामुदायिक पुस्तकालयले किशोरीहरुलाई सूचना प्रविधिमा सक्षम बनाउन परियोजना सुरू गरेको छ । रिड नेपाल र आइरेक्सको सहयोगमा किशोरीहरुलाई सूचना प्रविधिमार्फत सशक्तीकरण गराउन परियोजना सुरू गरिएको हो ।
१८ महिना सो परियोजनाले ४ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ५० जना किशोरीहरुलाई सेवा प्रदान गर्नेछ । पहिलो पाँच महिनामा किशोरीहरुलाई कम्प्युटर चलाउन पोख्त बनाउने योजना रहेको परियोजनाका अधिकृत साजन थापाले जानकारी दिए । किशोरीहरुलाई कम्प्युटर तालिमसँगै बोल्न सक्ने कलाको विकास, भविष्य छनोट गर्न सक्ने क्षमताको विकास, जीवन उपयोगी सीपलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
प्रविधि सिकाएपछि उनीहरुको क्षमताका आधारका २५ जना किशोरीलाई छनोट गरी उनीहरुलाई अन्य क्षमता विकासका कार्यक्रममा सहभागी बनाइने छ । ‘कम्तीमा २५ जनालाई आफ्नो भविष्य निर्माण गर्न सक्ने बनाइने छ’, अधिकृत थापाले भने, ‘यसका लागि किशोरीहरुको पनि लगनशीलता आवश्यक छ ।’
परियोजनाको शुक्रबार रत्ननगरका मेयर नारायण वनले उद्घाटन गर्दै केही गर्छु भन्ने भावना भएका किशोरीहरुका लागि परियोजना उपयुक्त प्लेटफर्म रहेको बताए । ‘पहिला केही गर्छु भन्ने इच्छाशक्ति हुनुप¥यो’, उनले भने, ‘गर्छु भन्नेका लागि परियोजना काफी हुन्छ ।’
पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले पुस्तकालयमार्फत समाज रुपान्तरण गर्ने अभियानअन्तर्गत किशोरीहरुलाई सूचना प्रविधिमा सक्षम बनाउन परियोजना आएको बताए ।
नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले युग सुहाउँदो प्रविधिको ज्ञान हासिल गर्न सकेमात्र जीवन सहज बन्ने बताए । खैरहनीको गवै माविसहित रत्ननगरका झुवानी मावि, बछौली मावि र मालपुर माविका विद्यार्थीहरु परियोजनाले सञ्चालन गर्ने कार्यक्रमका लागि छनोटमा परेका छन् ।