चितवन । भरतपुर अस्पतालभित्र रहेको पोस्टमार्टम कक्षमा कार्यरत दुई कर्मचारीमाथि अस्पतालमै रहेका प्रहरीले निर्घात कुटपिट गरेका छन् ।

कात्तिक ७ गते बिहान अस्पतालमा कार्यरत ४९ वर्षीय देवआनन्द राई र ६० वर्षीय पूर्ण विकलाई कुटपिट गरिएको हो ।

प्रहरी हबलदार जमिर अलि सेखको कुटाइबाट दुवैजना गम्भीर घाइते भएका हुन् । घाइते राईको ढाडमा नीलडाम छ भने विकको हात भाँचिएको छ ।

बिहीबार बिहान ६५ वर्षीया एक महिलाको पोस्ट मार्टम गर्ने क्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा आफूहरुमाथि लाठीले हानिएको घाइते राईले बताए । घाइते राईकी श्रीमती पुनम राईले आफ्नैअगाडि प्रहरीले कुटपिट गरेको बताइन् ।

प्रहरीले नै कुटेको घटनामा न्याय माग्न कहाँ जाने भनी आफूहरु घरमै आराम गरेर बसेको निरीहता व्यक्त गरिन् । घटना भए पनि भरतपुर अस्पताल प्रशासनले कुनै चासो तथा खोजबिन नगरेको उनको भनाइ छ ।

घटनाका आरोपित प्रहरी हबलदार जमिर अलिसेखले चोरी भएको गहना खोज्ने क्रममा कुरा नखोलेपछि सोधपुछका क्रममा कुटपिट गरेको स्वीकार गरेका छन् ।

कुटपिट गर्ने प्रहरी हबलदार अलिसेखविरूद्ध राई आफैँले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका छन् । उजुरीमाथि छानबिन गरी दोषीलाई कारबाही गरिने चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए ।

यसैबीच, हबलदारबाट कर्मचारी कुटिएको घटना विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइसक्दा पनि चितवनका एसपी दानबहादुर मल्लले आफूलाई यस विषयमा केही जानकारी नभएको भन्दै पन्छिए ।

आफ्नै मातहतका प्रहरीले कुटपिट गरेको र ८ गते कार्यालयमा उजुरीसमेत परेको विषयमा एसपी मल्लले आफूलाई जानकारी नभएको बताएर गैरजिम्मेवारी प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया