चितवन । विभागीय टिम नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई ट्राईब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको हो । टाईब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जित निकालेको हो ।
चितवनका कप्तान रूमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार विफल भयो भने सुधांस महतो र अजय गुरूङको प्रहार भने गोल भएको थियो । तर, पुलिसका तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोल गरे ।
जितसँगै पुलिसले ६ लाख ६ हजार ६६६ रूपैयाँ र रनिङ शिल्ड पाएको छ । उपविजेता बनेको चितवन–११ ले ३ लाख ३ हजार ३३३ रूपैयाँ पुरस्कार र उपविजेता शिल्ड पाएको छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान बेस्ट प्लेयर बने । उनले २५ हजार नगद पाए । उत्कृष्ट गोलरक्षक बनेका पुलिसका शत्रुधन चौधरी, उत्कृष्ट रक्षक बनेका चितवनका सुधांस महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवन–११ का रूमेश बर्तौला र अनुशासित टिम घोषित जावलाखेल फुटबल क्लबले जनही १५ हजार नगद पाएका थिए ।
फाइनल खेलको ‘म्यान अफ दी म्याच’ बनेका पुलिसका डिफेण्डर मानबहादुर विश्वकर्माले १० हजार पुरस्कार पाए । गत असोज ३० गतेदेखि सुरू भएको प्रतियोगितामा कुल १० टिम सहभागी थिए ।