आज यमपञ्चकको पाँचौ दिन अर्थात भाईटिका । आज भाई टिका लगाउने शुभ साईत भने ११ बजेर ५५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ ।
यमपञ्चकको पाँच दिन मृत्युदेव यमराजसमेत आफ्ना दैनिक कार्यलाई स्थगित गरेर पाँच दिनसम्म आफ्नी बहिनी यमुनाको पाहुना हुन जान्छन् भन्ने पौराणिक कथन छ ।
आजको दिन दिदीबहिनीले आफ्नै दाजुभाईलाई सप्तरङ्गी टिका , फुलको माला लगाई सेलरोटी लगायत मिठा मिठा परीकार खुवाई भाई टिका लगाई दिन्छन । टिका लगाई सकेपछि दिदीबहिनीलाई गक्ष्य अनुसारको दक्षीणा दिने चलन पनि रहीआएको छ ।
तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनुभएको छ । यमपन्चकको अन्तिम दिन भाइटीकालाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ ।
टीका लगाउन दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइहरूले राजधानी काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित महादेवको मन्दिरको एक कुनामा रहेको गोपालेश्वर महादेवको दर्शन गरि एक अर्कामा टिका लगाउने प्रचलन छ । सुरुमा ‘न्हुः पुखु (नयाँ पोखरी)’ भनिने उक्त पोखरी राजा प्रताप मल्लले विसं १७२७ मा आफ्ना माहिला छोरा चक्रवतेन्द्र मल्लको स्मरणमा निर्माण गरेका थिए | रानीपोखरीको महादेव मन्दिर भाइटिकाको दिनमात्र खोलिने गरिन्छ |