परिश्रमी पुष्प व्यवसायी पन्त

भरतपुर । निरन्तर परिश्रम गरे सफलता मिल्छ भन्ने गतिलो उदाहरण यहाँका फूल व्यवसायी प्रकाश पन्तले दिएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–३ मा जन्मिएका पन्तले चितवनलाई कर्मभूमी बनाउँदै फूलखेती गर्दै आएका छन् ।

विसंं २०५७ मा मूल विषय अङ्ग्रेजीमा स्नातक उत्तीर्ण गरेका पन्तलाई रोजगारीका प्रशस्त अवसर थिए । तर, उनले काठमाडौँमा बिक्री हुने गरेको फूलको उत्पादनमा नै आफ्नो भविष्य देखे । फूलखेती कहाँ गर्दा उपयुक्त हुन्छ विचार र परामर्शमा लाग्दै गर्दा चितवन उपयुक्त थलो उनलाई लाग्यो ।

तत्कालीन गुञ्जनगर गाउँविकास समिति वडा नं– ६ भुवनबस्तीमा दुई बिघा जग्गा भाडामा लिएर उनले फूलखेती थाले । पन्तका अनुसार सुरूमा १० कट्ठा जमिनमा ‘ग्याडुलस’ फूल लगाए । फूलको विस्तार गर्ने क्रममा उनले फार्मलाई सोही गाउँ विकास समितिको ५ नं वडामा सारे । सो ठाउँमा ग्याडुलससँगै गोदाबरी, जरभेरा र गुलाफ उत्पादन गर्न थाले ।

क्रमशः क्षेत्र विस्तार गर्ने क्रममा अहिले २० बिघामा ती फूल रहेका छन् । दुईदुई वर्षमा जमिन परिवर्तन गर्नुपर्ने भएकाले ठाउँठाउँमा जग्गा भाडामा लिएर उनले फूल लगाउँदै आएका छन् । एक बिघाको वार्षिक रू ३० हजार भाडा तिर्दै आएका पन्तका बारीमा ५० जना भन्दा बढी स्थानीयवासीले रोजगारी पनि पाएका छन् ।

उनले उत्पादन गरेको फूल काठमाडौंँ मात्र होइन भारत र कतार पनि जाने गरेको छ । पहिलो वर्ष रू ५० हजारको फूल बिक्री गरेका पन्तले गत वर्ष रू दुई करोडको फूल बिक्री गरे । यसवर्ष रू तीन करोड ५० लाखसम्मको फूल बेच्ने लक्ष्य उनले राखेका छन् । स्नातक पढ्दै गर्दा यो व्यवसायमा हामफालेका पन्तको पढाइ भने अघि बढ्न सकेन । यद्यपि यो पेसामा धेरैका गुरू उनी बनेका छन् । नयाँ–नयाँ मानिसलाई यो पेसाका बारेमा सिकाउन पाउँदा र ठूलो सङ्ख्याका नेपाली दाजुभाइ दिदीबहिनीलाई तलब बाड्दाको समयमा निकै आनन्द आउने गरेको पन्तको भनाइ थियो ।

उनले भने, “पढाई छुट्यो पछुतो छ । त्यो समयमा मैले जागिर पनि खान सक्थे, तर यो जोखिम लिएर मैले मेरो र अरुको जीवन पनि बनाउन पाएकोमा खुशी छु ।” फूलखेती मात्र होइन अध्ययन र अनुसन्धान गर्दै विज्ञ पनि उनी बनेका छन् ।

हल्याण्डको पम्प भन्ने संस्थासँग सहकार्य गरेर उनले काम गरिरहेका छन् । विदेशी विज्ञ बोलाएर सीप आदानप्रदानका लागि उनकै अगुवाइमा काम पनि भइरहेका छन् । उनले भने, “फूलखेतीको विस्तार र बजारीकरणका लागि युरोपका सबै जसो देशसँगै युएई, कतार, ईजरायल, नेदरल्याण्डजस्ता देशमा पुगेको छु ।”

नेपालमा आफूजस्ता धेरै किसानलाई यस क्षेत्रमा प्रवेश गराउने लक्ष्यका साथ ४४ वर्षीय पन्त अघि बढेका छन् । उत्पादन गर्ने र उपभोग गर्नेको बीचमा ठूलो अन्तर भएकोमा उनलाई चिन्ता छ । बीचका मानिसले धेरै नाफा खाइदिँदा उत्पादन गर्ने र उपभोग गर्ने दुवै मर्कामा परेको भन्दै उनले अहिले क्षेत्रपुरमा फूल बिक्री केन्द्रसमेत सञ्चालन गर्दै आएका छन् ।

उनी भन्छन् “दुःख गर्ने र उपभोग गर्नेले भन्दा विचौलीयाले बढी लाभ लिनु राम्रो होइन ।” आफ्नो बिक्री केन्द्रले किसानको फूल किन्ने र ग्राहकलाई बेच्ने काम गर्दै आएको उनको भनाइ थियो । प्रविधि र संरचनामा आफ्नो कमाई खर्चदै आएका पन्तसँग रू चार करोडभन्दा बढीका संरचना रहेका छन् । सात वर्षअघि आठ कट्ठा जमिनमा फूलका लागि ठूलो ‘ग्रिन हाउस’ भित्र्याएका पन्तको फूलखेती हेर्न आउनेको भीड लाग्ने गरेको छ ।

पन्तले दुई दशकको सङ्घर्षमा नेपालमा र विदेशमासमेत आफूलाई चिनाउन सफल भएको छ । धेरै किसानका गुरू बनिसकेका पन्तको क्षेत्रपुरमा आफ्नै घर छ भने दुई सन्तान निजी स्कुलमा पढ्छन् । वार्षिक रू १० लाख हाराहारी बच्ने बताउँदै उनले नगद जम्मा भन्दा पनि संरचना जोड्दैमा धेरै खर्च हुने गरेको बताए । पन्त सरकारको सहयोगको अपेक्षा गर्नुहुन्न । उनले भने, “अनुदानले कृषि क्षेत्र ध्वस्त भइसक्यो ।”

साना किसानलाई थोरै रकम दिनु ठीकै भए पनि ठूलो रकम अनुदान दिनु गलत हुने भन्दै उनले ऋणमा सहुलियत दिनुपर्ने बताए । पन्त फ्लोरीकल्चर एसोसिएसन नेपाल चितवन शाखाको अध्यक्ष छन् । रासस

Facebook Comments