महेश पाण्डे
चितवन । छठ पर्वको तेश्रो दिन आज निराहार ब्रत बसी मनाईदै छ । आजको दिन छठ पर्वको मुख्य दिन पनि रहेको छ । छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिईने गरिन्छ ।
छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उँदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ । छठको मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात् उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफुल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् ।
छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
यसै बिच चितवनको रत्ननगरमा रहेको छठीमाई सेवा समितीले छठ पर्वको अवसरमा “छठ पुजा– २०७६” नाम राखेर बिशेष पुजाको आयोजना गरेकोे शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष कृष्ण मुरारी सिं ठकुरीले छठ पुजा रत्ननगरमा हरेक वर्षझै यो वर्ष पनि मनाउन लागिएको र यो पर्व सुःख शान्ति र सबैलाई राम्रो होस भनेर मनाउदै आईरहेको बताए ।
संस्थाका उपाध्यक्ष ओम प्रकाश साह कलवारले छठ पर्व कृषी उपजसंग पनि जोडिएको बताउदै यस पर्वमा जल, धर्ती र सुर्य भगवानको पुजा अर्चना पनि गरिने भएकोले यो कार्य कृषी उपज गर्नको लागि चाहीने कुरासंग जोडीएको बताए ।
संस्थाका कोषाध्यक्ष ओम प्रकाश कलवारले छठ पर्व कृष्ण शुक्ल पक्षको चतुर्थीबाट शुरु सप्तमीमा समाप्तहुने जानकारी दिदै सन्तान प्राप्ती र चर्म रोग निवारणको लागि पनि यो पर्व निकै महत्वपुर्ण भएको बताए ।
संस्थाका वरिष्ठ सल्लाहाकार समेत रहेका महेश प्रसाद रौनियारले रत्ननगरमा छठ पर्व मनाउन बि.सं. २०२७ सालबाट शुरु भएको बताउदै उनले त्यो बेलामा रत्ननगरको देवौलीमा यो पर्व मनाउने गरिएको भएतापनि बि.सं.२०४६ सालमा नेपालबाबाले सिवालय मन्दिरको उद्घाटन गरेपछि रत्ननगर २, गौरिघाटमा छठ पुजा स्थान्तरण भएको बताए ।
सचिव ओम प्रकाश गुप्ताले हालका दिनमा छठ पर्व मधेषीको मात्र नभई हिन्दुधर्म मान्ने सबैको भएकको जिकिर गरे । उनले हालका दिनमा गौरिघाटमा रत्ननगर र कालिका नगरपालिकाका क्षेत्रबाट हजारौसंख्यामा भक्तजनहरु पुजाको लागि आउने गरेको बताए । उनले त्यसको लागि स्थानिय प्रहरी प्रसाशनसंग मिलेर सुरक्षाको पनि ब्यवस्था मिलाएको जानकारी दिए ।
कार्यक्रम संस्थाका सदस्य अमित कुमार गुप्ताले सञ्चालन गरेका गिए ।
यतिबेला सूर्यलाई अर्घ दिन तराई मधेशका नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशय सिंगार्ने काम भईसकेको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाउने काम भईसकेको छ ।