
महेश पाण्डे
चितवन । कार्तिक २९ गतेबाट देशैभरि प्रदर्शनमा आउने चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवन आईपुगेको छ । फिल्म प्रमोशनको लागि चितवन आईपुगेको टिमले शनिवार पूर्वी चितवनको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति हलमा पत्रकारहरुसंग भेटघाट गरि फिल्मको बारेमा जानकारी दिएको हो ।
फिल्म प्रमोशनको लागि आएको टिममा चलचित्रका प्रोडक्सन डिजाईनर गणेश सापकोटा, हास्य कलाकार बिष्णु सापकोटा (हर्के हवल्दार), नव नायक साहिल श्रेष्ठ लगाएतका रहेका थिए ।
चलचित्रका प्रोडक्सन डिजाईनर गणेश सापकोटाले चलचित्र गर्मी याममा निकै दुःख गरेर नवलपरासीमा सुटिङ् गरेको जानकारी दिदै सो मेहनतको फल प्राप्त हुने दिन नजिक आएको बताए ।
हास्य कलाकार बिष्णु सापकोटा (हर्के हवल्दार) ले चलचित्र पुर्णतया हास्य बिधामा रहेर निर्माण गरिएकोले निकै मनोरञ्जनात्मक भएको बताए । उनले फिल्ममा नायक भुवन केसीको दोहोरो भुमिका रहेकाले पनि र उनले धेरै पछि दर्शकले हेर्न पाउने भएकाले पनि निकै महत्वपुर्ण भएको बताए ।
फिल्मका नव नायक साहिल श्रेष्ठले चलचित्र कमेडि र पारीवारीक दुवै धारमा बनेकाले सबैलाई हेर्न आग्रह गरे । उनले फिल्ममा आफु नेपालीको छोरो २० वर्ष पछि नेपाल फर्कदा नेपाली पनि बोल्न नजान्दा परेको समस्या देखि अन्य धेरै कुरालार्ई रमाईलो ढङ्गबाट देखाउने खालको भएको बताए ।
कार्यक्रममा चलचित्रको निर्माण टिमलाई हलका अध्यक्ष एस.पी उप्रेतीले स्वागत गरेका थिए ।