मुग्लिन । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय रोहिणी त्रिपाठी यतिबेला मुग्लिन बजारमा पत्रकारितासँगै पानको व्यापारमा गरिरहेका छन् । त्रिपाठी स्टेशनरी व्यापारसँगै पत्रकारिता क्षेत्रमा लागेका हुन् ।

विसं २०५४ मा ईच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा स्टेशनरी शुरु गरेसँगै उनले पत्रकारिता पनि सँगै अगाडि बढाए । तत्कालीन समयमा पारदर्शी साप्ताहिकबाट पत्रकारिता शुरु गरेका त्रिपाठीले झण्डै २२ वर्षसम्म सूचनाको स्रोत बनेर मुग्लिनमा रहँदै आएका छन् ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा हुने ठूला सवारी दुर्घटनामा राष्ट्रिय र स्थानीयस्तरका सञ्चारमाध्यमका साझा संवाददाताका रुपमा उनले सघाउँदै आएका छन् । पछिल्लो समय उनकै प्रेरणाले मुग्लिनबजारमा पत्रकार हुने क्रम भने बढ्दै गएको छ । अहिले सो क्षेत्रमा एक दर्जन पत्रकार क्रियाशील छन् । उनीहरुलाई संगठित गरेर आफ्नै नेतृत्वमा उनले ईच्छाकामना पत्रकार समूहसमेत बनाएका छन् ।

भरतपुरको अदब मिडिया हाउसमा भेटिएका त्रिपाठीले भने, “पत्रकारिता र स्टेशनरी व्यापारभन्दा पानको व्यापारबाट सन्तुष्ट छु ।” उनले आफ्नै स्टेशनरी पसलअगाडि घुम्तीमा गत भदौबाट पान पसल शुरु गरेका हुन् । पान बनाउने काम उनी र श्रीमती शान्ताले आलोपालो गर्दै आएका छन् । सोही ठाउँमा यसअघि पानको व्यापार गर्दै आएका शिवशङ्कर जैसवालसँग सीप सिकेर उनले व्यापार थालेका हुन् ।

पान पसलमा सुर्तीजन्य पदार्थसँगै पानी, फास्टफुडसँगै चिसो पेय पदार्थ, जुस, चक्लेटलगायतका सामग्री बिक्री गर्दै आएका छन् । त्रिपाठीले भने, “दैनिक पाँचदेखि आठ हजारसम्म व्यापार हुन्छ, । महिनामा न्यूनतम ६० हजार बचाउँछु ।”

स्टेशनरी पसलबाट भने उनी सन्तुष्ट छैनन् । दैनिक दुई हजार हाराहारी व्यापार हुने स्टेशनरी व्यापारमा नाफा पनि कम हुने गरेको उनले बताए । सामान्यदेखि ठूला घरानियासम्मलाई त्रिपाठी आफ्नै हातले बनाएर मीठा र जर्दा पान खुवाउने गरेको बताउँछन् ।

सवारी यात्रा गर्नेहरुका लागि खानामा प्रख्यात मुग्लिन बजारमा पारखीहरु खानापछि पान पसल खोज्दै हिँड्ने गर्दछन् । बिहान ६ बजेदेखि राति १२ बजेसम्म पनि पानको व्यापार हुने गर्दछ ।

५० वर्षीय त्रिपाठीलाई जिल्ला र राजधानीका धेरै पत्रकारले चिन्दछन् । नेपाल पत्रकार महासंघमा उनी धेरैपटक केन्द्रीय पार्षद् बने । हाल पनि उनी चितवनबाट प्रदेश पार्षद् छन् ।

तपाईको प्रतिक्रिया