वीरगन्ज । बालकलाई अपहरण गरी रु १२ लाख फिरौती माग गरेको अभियोगमा पोखरिया नगरपालिका–६ सोनवरियाका राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जको सिर्सियाबाट गए राति १ बजे अपहरितका पितासँग फिरौती रकम लिन आउने क्रममा प्रहरीले दासलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका अम्जद खानको १४ वर्षीय छोरालाई कात्तिक १० गते काठमाडौँबाट वीरगञ्ज आउने क्रममा अपहरण गरिएको थियो ।

अपहरितका पितासँग फिरौतीबापत दाससहितका अपहरणकारी समूहले रु १२ लाख माग गर्दै आएको थियो । अपहरणकारीले माग गरेको फिरौती रकम दिन गए राति सिर्सिया पुगेका दासले खानको हातबाट रकम भएको झोला खोसी भाग्न खोज्दा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दासको दाहिने खुट्टामा गोली लागेको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले प्रहरी नियन्त्रणमा रहेका दासले दिएको जानकारीका आधारमा सीमावर्ती भारतीय क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा अपहरित बालकलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको बताए ।

प्रहरीको गोली लागि घाइते भएका दासलाई उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । बालकको अपहरणमा दाससहित अन्य दुई जना व्यक्ति संलग्न रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका दासबाट प्रहरीले नलकटुवा पेस्तोल एक थान, सोमा प्रयोग हुने गोली चार थान र उनले प्रयोग गरेको बिआर २२ जे ०८०३ भारतीय नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया