काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसंघले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।

कार्यक्रममा नेविसंघका नेता दीपक भट्टराईले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताए ।

नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता सान शिवाकोटीले भारत सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेर नेपाल–भारत सम्बन्धलाई बिथोल्न खोजेको आरोप लगाए ।

विद्यार्थीले नेपाललाई पानीजहाज र रेलभन्दा पनि लिपुलेक र कालापानी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नेविसंघका निवर्तमान सहमहामन्त्री ललिता सुनुवार, निवर्तमान केन्द्रीय सदस्य कल्पना खड्कालगायत त्रिचन्द्रका विद्यार्थीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया