
चितवन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको शनिवार १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको बन्दसत्रमा प्रस्तुत गरिएको बजेट,नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । सो संस्थाले गत आर्थिक वर्षमा ३ करोड भन्दा वढिको कारोवार गरेको छ ।
संस्थाको शनिवार आयोजित दशौ वार्षिक साधारण सभामा अध्यक्ष भीष्मराज पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७५÷७६ मा ३ करोड ४५ लाख २० हजार वरावरको आम्दानी गरेको उल्लेख छ ।
जसमा १ करोड ६६ लाख ५६ हजार खर्च कटाएर १ करोड ७८ लाख ६३ हजार रुपैया संचालन वचत भएको अध्यक्ष पौडेलले बताए । रत्ननगर नगरपालिका भित्र शुद्ध खानेपानीको सेवा दिदै आएको सो संस्थाको हाल ८ हजार ६६७ घरधुरी उपभोक्ता छन् । आम्दानी अनुसार रत्ननगर खानेपानीले नगर भित्रका सुकुम्वासी,गरिव समुदायलाई धारा जडानमा ५० प्रतिशत छुट दिंदै आएको संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष पौडेलले भावि कार्ययोजना,नीति तथा कार्यक्रम,सचिव कृष्णप्रसाद नेपालले प्रगति प्रतिवेदन,कोषाध्यक्ष विष्णु पौडेलले आर्थिक प्रतिवेदन,लेखा संयोजक ओलराज भट्टले आन्तरिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेश सभा साँसद कञ्चन खनाल,जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी,रत्ननगरका मेयर नारायण वन,पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी,वडा नं १२ का वडाध्यक्ष बीरबहादुर पाख्रिन,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,पूर्व अध्यक्ष महेशकुमार रौनियार,निर्वतमान अध्यक्ष ऋषिराम वाग्ले, पिठुवा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष आशिक तामाङ,परिषद् सदस्यहरु त्रिलोचन निर्मल पौडेल,शोभा शर्मा ओली लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामहरि अधिकारी स्वागत मन्तव्य राखेका थिए ।