चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रूपमा जडान गरिएको केवल बेरियरले दुई मालबाहक ट्रक जोगाएको छ ।
चिनीयाँ सरकारले निःशुल्करूपमा उपलव्ध गराएको ५०० मिटर केवल पर्यटन व्यवसायी मिङ्मा दोर्जे लामाले भन्सार, ढुवानी र जडान गरेका थिए । सो सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार परीक्षणका रूपमा २०७५ साउनमा पाँच किलोमा ३०० मिटर र मुग्लिननजिकै २०० मिटर केवल बेरियर लगाइएको छ । पाँच किलोमा गत माघमा ३५ टन भार भएको नेपाली ट्रक ठोक्किएर नदीमा खस्नबाट बचेको थियो ।
दुईदिनअघि सोही हाराहारी भार बोकेको भारतीय ट्रक मुग्लिननजिकै केवलमा ठोक्किएर नदीमा खस्नबाट रोकिएको खनालले बताए । भारवाहन ट्रकको तुलनामा यात्रुबाहक बसको भार कम हुने भएकाले केवल प्रभावकारी देखिएको उनले जानकारी दिए । नेपालका यस्ता सडकमा यो केवलले दुर्घटनाबाट जोगाउन सक्ने देखिएको खनालको भनाइ थियो ।
सुरक्षित देखिएपछि नेपालका अन्य यस्ता सडकमा पनि केवल प्रस्ताव गरिएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा बार कमजोर हुँदा वर्सेनि धेरै सङ्ख्यामा सवारी साधन त्रिशूलीमा खस्ने गरेका छन् ।
सडकको विस्तारका क्रममा परीक्षणका रूपमा केवल जडान गरिएको हो । केवलबाट प्रभावित भएर पर्यटन व्यवसायी शेर्पाले करिव १५ लाख सहयोग गरेका थिए । एक मिटर अग्लो पोष्टमा पाँच लाइन केवल तन्काएर जडान गरिएको छ । साना सवारीसाधन ठोक्किएको अवस्थामा सो सवारीसाधन भने पछाडि धकेलिन्छ ।