महेश पाण्डे
चितवन । नेपालले वार्षिक ६ अबको काठ विदेशबाट आयात गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसबाट हरियो वन नेपालको धन भन्ने नारामात्रै रहेको पुष्टि गर्दछ ।
एकातर्फ वन क्षेत्रमा ढलेका र पुराना रुखहरु कुहिएर जाने तर विदेशबाट ६ अब बराबरको काठ आयात हुनुले नेपालको वन क्षेत्रको नियम कानुन नमिलेको हो कि भन्ने प्रश्न पनि सरोकारवालाहरुले उठाउन थालेका छन् ।
त्यसो त ढलेका र पुराना भएका रुखहरु सामुदायिक वनमा भने काट्न मिल्ने भए पनि राष्ट्रिय निकुञ्जहरु भने विश्व सम्पदा सूचीमा परेको विषय भएकाले उसको आफ्नै नियम कानुन हुनुले पनि त्यहाँको रुख भने बरु कुहिएर जान्छ काट्न भने नपाइने बताउँछन् खैरहनी सबडिभीजन वन कार्यालयका प्रमुख विष्णु केसी ।
चितवनको खैरहनीमा शनिबार आयोजित वैज्ञानिक वनको कार्ययोजना कार्यान्वयनमा स्थानीय तह, पत्रकार, नागरिक समाजका लागि सचेतना कार्यक्रममा सबैलाई वन वैज्ञानिक व्यवस्थापन कसरी गर्न भन्ने विषयमा जानकारी दिँदै केसीले सो कुरा बताएका हुन् ।
उनले तराईको वन क्षेत्रका हैसियत बिग्रिएकाका, वृद्धि रोकिएका बूढा रुखहरुको बाहुल्यता भएको र पुनरोत्पादनको कमी भएका कारण वन क्षेत्रमा समस्या देखिएको बताउँदै तराईको वन क्षेत्रको आधामात्र वन क्षेत्रलाई वैज्ञानिक वन व्यवस्थापन गर्न सके वार्षिक १५ अबै रुपैयाँ बराबरको राजस्व सरकारलाई प्राप्त हुने बताए ।
खासमा वन संर्वद्धनमा आधारित वन संरक्षण प्रणाली नै वैज्ञानिक वन व्यवस्थापन हो । यो प्रणालीअन्तर्गत सबै पक्षले सही ढङ्गबाट काम गरेमा वन संरक्षण हुनेमा आफू विश्वस्त रहेको केसी बताउँछन् ।
खासमा नयाँ बिरुवा लगाउने, नयाँ बिरुवा उत्पादन गर्ने र नयाँ बिरुवालाई संरक्षण र संर्वद्धन गर्न सकेमात्र वनको दिगो विकास हुन्छ भन्ने मान्यता वैज्ञानिक वन व्यवस्थापनले राखेको हुन्छ ।
दिगो वन व्यवस्थापनबाट अहिले वैज्ञानिक वन व्यवस्थापन भन्ने बनाइएकोले खासमा दुवैको उद्देश्य एउटै रहेको छ ।
जुन व्यवस्थापन पद्दतिलाई वातावरण संरक्षण, सामाजिक, आर्थिक हिसाबले पनि स्वीकारेको अवस्थामा कुनै पनि वनको व्यवस्थापन दिगो हुने गर्दछ ।
हाल नेपालका मध्य पहाड, हिमाली क्षेत्रमा वनको क्षेत्र बढ्दो अवस्थामा रहेको छ । हाल देशैभरि ९१ वटा सामुदायिक वन रहेका छन् भने करिब ४३८१४ घरधुरी वनमा आश्रित रहेका छन् ।
चितवन जिल्लाको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष ०६९∕०७० मा वैज्ञानिक वन व्यवस्थापनको सुरुवात भएको हो ।
सुरुमा ५ वटा सामुदायिक वन यो व्यवस्थापनमा आबद्ध भएकोमा आर्थिक वर्ष ०७५∕०७६ सम्म आइपुग्दा १७ वटा सामुदायिक वन यसमा आबद्ध भएको देखिन्छ ।
जसमा ६५९३ हेक्टर वन वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत सञ्चालनमा रहेको र यसबाट ९१५९ घरधुरी लाभान्वित भएका छन् ।
शनिबार भएको कार्यक्रममा उपस्थित सबैलाई वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको थियो । जुन प्रशिक्षण खैरहनी सबडिभीजन वन कार्यालयका प्रमुख विष्णु केसीले दिएका थिए । जसमा चितवन जिल्लाका विभिन्न सामुदायिक बन, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।