महेश पाण्डे
चितवन । रत्ननगरको बकुलहरचोकदेखि जुटपानी शक्तिखोर–सिद्धी सडकखण्ड निर्माणमा ठेकेदारको चरम लापरबाहीका कारण समय सीमा समाप्त हुँदा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

खासगरी बाटो निर्माणको लागि श्री स्वच्छन्द निर्माण सेवा प्रालि, काठमाडौँले २०७५ वैशाख २५ गते सुरु गरी २०७६ कार्तिक १९ सम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि समय सीमा एकसाता बितिसक्दा पनि निर्माण सम्पन्न गर्नेतर्फ कुनै चासो दिएको छैन ।

फिल्डमा नेपालीको आवाज डटकमको टिम पुग्दा काम गर्ने कामदार कोही पनि थिएनन् । जसको कारण खनिएका खाल्टाखुल्टी र बाटो सम्माएरमात्र छाडिएको कारण धुलो उड्ने समस्या बढेको छ भने यस सडक छेउछाउका स्थानीयको व्यवसाय नै चौपट भएको छ ।

स्थानीयले स्वास्थ्य समस्या भएको गुनासो गरेका छन् ।

विशेषगरी दसैँतिहार र छठको बेलामा सडक बिग्रिएर सर्वसाधारण बाटोमै हिँड्न छाडेपछि व्यवसाय नै चौपट भएको रत्ननगर–१० प्रर्सौनीस्थित दीपज्योति मल्टी सप्लायर्सका सञ्चालक ज्ञानप्रसाद दाहाल बताउँछन् ।

बकुलहरदेखि जयमंगला क्षेत्रका व्यवसायीहरु र स्थानीय यो समस्याबाट बढी पीडित भएका छन् ।

प्रर्सौनीमा हाम्रो रेग्मी खाजा घर सञ्चालन गर्दै आएकी रमा रेग्मीले यही बाटोको कारण धुलो उडेर दिउँसै होटल बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरेकी छन् ।

उनले नेपालीको आवाज डटकमसँग गुनासो पोख्दै भनिन् “धुलो त खाइयो खाइयो, गरिखाने व्यवसाय नै धरापमा पर्‍यो ।”

अर्का पूर्वशिक्षक तथा स्थानीय हेमबहादुर मल्ल सडक डिभिजनले ठेकेदारलाई ठेक्का दिँदा सरोकारवालालाई नै थाहा नभएका कारण समस्या भएको बताए । उनले बाटोको कारण सबैलाई समस्या त पर्‍यो, पर्‍यो अहिलेसम्म स्थानीयले ठेकेदारलाई देख्न र चिन्नसमेत नपाएको बताए ।
धुलो खाँदाखाँदै महिनौँदेखि आजित भएका रत्ननगर–१० का स्थानीय राम दुलाल बाटो बन्ने आशले कुर्दाकुर्दै दर्जनौँ व्यवसायीको व्यवसाय धरापमा पर्नुका साथै सर्वसाधारण पनि धुलोको समस्याबाट आजित भइसकेको बताए । उनले स्थानीयको धैर्यताको बाँध टुट्न थालिसकेको भन्दै आक्रोश व्यक्त गरे ।
यस्तै, रत्ननगर–१० का वडा सदस्यसमेत रहेका कमलबहादुर घिमिरेले सडक निर्माणको काम सडक डिभिजनले सीधै ठेकेदारलाई दिएका कारण स्थानीय सरकारले केही गर्न सक्ने स्थिति नरहेका कारण समस्या आएको बताए ।

उनले ठेकेदार पक्षलाई भेटेर कुरा गर्दा भोलिभोलि भनेर अल्झाइरहेकाले सर्वसाधारणले दुःख पाउनुपरेको बताए ।
स्मरण रहोस्, बकुलहरदेखि जुटपानी–शक्तिखोर–सिद्धि सडकखण्डको निर्माण लागत २२ करोड ८१ लाख १८ हजार ७७ रुपैयाँमा श्री स्वच्छन्द निर्माण सेवा प्रालि, काठमाडौँले ठेक्का सम्झौता गरेको हो । जसको कार्य सम्पन्न गर्ने अवधि यही कार्तिक १९ गते समाप्त भइसकेको छ ।

निर्माण सम्झौताअनुसार नालीसहितको सडक निर्माण, ग्याबिन, टेवा पर्खाल, रोड सर्फेस ५ मिटर चौडाइ डीबीएसटी, बाटोले ओगटेको अधिकतम जग्गा सिमाना सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ ५–५ मिटर बनाउने कुराहरु उल्लेख गरिएको छ ।


यस सडकको कार्यान्वयन निकाय भने जिल्ला आयोजना कार्यान्वन कार्यालय, भरतपुर, चितवन रहेको छ ।

केही समयअघि नेपालीको आवाज डटकमले यस विषयमा भिडियो रिपोर्टिङ गरिसकेको छ । हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया