
रौतहट । राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।
विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ ।
न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए ।
आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएका सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् ।
यसअघि विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिएकी थिइन् । २३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेतासमेत रहेका आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी थिइन् ।
प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक बयान फेर्दै लिखित निवेदन दिएकी थिइन् ।
आलम सर्मथकद्वारा मौन जुलुस
यसैगरी आलमका सर्मथकले गौरमा विशाल मौन जुलुस प्रदर्शन गरेका छन् । आलमको जिल्ला अदालतमा बहस चलिरहँदा सर्मथकले भने गौरमा ठूलो संख्यामा आज दोस्रो पटक मौन जुलुस निकालेका हुन् ।
आलमको निर्सत रिहाइको माग गदै मौन जुलुस लिकालिएको जुलुसमा सहभागी कांग्रेसका महाअधिवेशन प्रतिनिधि मुकेश गिरीले बताए । बीपी चोकबाट निस्केको जुलुसले जिल्ला अदालत हुँदै गौर भन्सार पुगेर टुङ्गिएको गिरीले जानकारी दिए । यसअघि पनि यसैगरी मौन जुलुस निकालिएको थियो ।
कांग्रेसका केन्द्रीय तहका नेताले कानूनलाई सहयोग गर्न भनेपछि यहाँका नेता तथा कार्यकर्ताले दुईपटक गौरमा मौन जुलुस प्रदर्शन गरेका हुन् । गत २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि प्रहरीले गत असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो ।