महेश पाण्डे

चितवन । बिस्कुट उत्पादक कम्पनी खजुरिको नेपाल प्रालिले आफ्ना श्रमिक महिलाहरुको चरम श्रम शोषण गरेको पाइएको छ । खैरहनी–५ मा रहको बिस्कुट उत्पादन गर्ने प्लान्टमा काम गर्ने महिला श्रमिकहरुले आफूहरुलाई कम्पनीले चरम श्रमशोषण गरेको भन्दै आन्दोलित भएपछि सोकुरा खुलेको हो ।

खजुरीको कम्पनी देशकै नाम चलेको कम्पनीमा पर्दछ । जसले भिटामिन, ग्लुकोज, चोकोज चोको, टायल कुकिज, चेरी कुकिज नाम राखेर बजारमा बिस्कुट उत्पादन गरी बिक्री वितरण गर्ने गर्दछ ।
कम्पनीमा काम गर्ने सबै कामदारहरु महिलामात्रै हुने गरेको आन्दोलनमा सहभागी रत्ननगर–१६ कि इन्दिरा देवकोटाले नेपालीको आवाज डटकमलाई जानकारी दिइन् । उनले २६७ जना महिला श्रमिकमध्ये १४२ जना आन्दोलनमा रहेको बताउँदै केहीलाई कम्पनीका सुपरभाइजरले जबर्जस्ती काममा लिएर गएको बताइन् ।


आन्दोलनमा रहेकी रत्ननगर–१४ कि लक्ष्मी रानाभाटले कम्पनीले तीन सिफ्टमा बिहान ९–५, बेलुका ५–१, राति १–९ मा काम गर्ने भनेर महिलाहरुलाई काममा लगाएको भए पनि दैनिक १२ देखि १४ घन्टासम्म उभिएर घोटाएर काममा लगाउने गरेको तर तलब भने विभिन्न बहाना बनाई थोरै दिने गरेको बताइ्न । हाल सो कम्पनीमा खैरहनी, रत्ननगर, राप्ती नगरपालिकाका महिलाहरुले काम गर्ने गरेको पाइएको छ ।
आन्दोलनमा उपस्थित सबैले सुरूमा एग्रिमेन्ट पेपर पनि हेर्न नदिई हस्ताक्षरमात्रै गराई काममा लगाउने र तलब १३ हजार ५०० रुपैयाँ भनिए पनि ९ हजारमात्रै दिने गरेको जानकारी दिए ।

रत्ननगर–४ की छाँया चौधरीले लगातार १२ देखि १४ घन्टा उभिएर काम गर्दा कोही बेहोस नै हुन्छन् तर कम्पनीले अस्पताल पनि लैजाने गरेको बताउँदै बिरामी बिदा, क्रिया बिदासमेत नपाउने गरेको बताइन् ।

आन्दोलनरत सबै महिलाले आफूहरुलाई कामलगाउने सुपरभाइजर सबै महिला नै भए पनि कामदार भनेर साह्रै नै हेप्ने गरेको बताए । सुपरभाइजरहरुले कम्पनीमा महिला श्रमीकहरुलाई हदैसम्मको ज्यादति गर्ने गरेको आरोप लगाए ।
हाल सो कम्पनीमा सुपरभाइजरको रुपमा समीक्षा रिजाल, बिना गुरुङ, अनु चौधरी, मीरा घिमिरे, गंगा बुढाथोकी, आयुषा घिमिरे, शर्मिला न्यौपानेलगायतको रहेको र उनीहरुले महिला कामदारहरुलाई हेप्ने गरेको आन्दोलनरत महिलाहरुले जानकारी दिए ।

उनीहरुले सो कम्पनीका महाप्रबन्धक सूर्यप्रसाद न्यौपानेलाई आफ्ना मागको बारेमा जानकारी गराउँदा बरु काम छोड्न भन्ने गरेको जानकारी दिए ।

‘हामीले यो विषयमा महाप्रबन्धक न्यौपानेलाई कम्पनीमा नै भेट्न खोज्दा भित्र छिर्न दिएनन् । हामीले उनलाई गरेको फोन रिसिभ पनि गरेनन् ।

त्यसपछि हामीले उनलाई म्यासेज पनि ग¥र्यौं तर सोको जवाफ पनि उनले दिएनन् । कम्पनीले समस्या बाहिर आउने डरले हामीलाई बेवास्ता गरिरहेको छ ।’

आन्दोलनरत महिलाहरुले भने आफूहरुले राखेको माग पूरा नभएको कारणले गर्दा आइतबार दिउँसो ३ बजेदेखि आन्दोलनमा उत्रिएको बताए । उनीहरुको माग नेपाल सरकारले श्रम एनमा तोकेअनुसारको सेवासुविधा हनुपर्ने रहेको छ ।

महिलाहरुको आन्दोलनमा साथ दिन आएका रत्ननगर जिफण्डका संयोजक शंकर खनालले भने, ‘उद्योग सञ्चालन गर्ने सञ्चालकले कम्तीमा पनि श्रम ऐनले तोकेको सेवासुविधा मजदुर तथा कर्मचारीहरुलाई दिनुपर्छ अनिमात्रै कम्पनी सञ्चालन गर्नुपर्छ भन्ने कुरा उद्योगपतिले बुझ्नुपर्छ ।’

समग्रमा हेर्दा खजुरीको प्रालि राष्ट्रियस्तरको कम्पनी भए पनि कामदारलाई भने ज्यादती गर्ने गरेको आन्दोलनरत महिलाहरुको कुरा सन्दा प्रष्ट हुन्छ । तसर्थ, यसको समाधान चाँडोभन्दा चाँडो होस् भन्नेतर्फ सरोकारवाला लाग्नुपर्ने देखिन्छ ।

भारतले नेपालको कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समेटेको विरोधमा युवाहरुले गरेको नांगो जुलुस । हेर्नुहोस भिडियोमा :

तपाईको प्रतिक्रिया