महेश पाण्डे
चितवन । सौराहामा नवौँ विश्व रेन्जर कंग्रेस सम्मेलन आजदेखि सुरू भएको छ । ७० देशका करिब ५५० भन्दा बढी रेन्जरहरुको सहभागिता रहेको सो सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।
नेपाल सरकार र अन्तर्राष्ट्रिय रन्जेर फेडेरेसन (आईआरएफ)को आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका दाहालले वन्यजन्तु संरक्षण गर्नु भनेको निकै चुनौतीपूर्ण रहेको बताए । उनले प्रकृति मानवको जीवन र जीवनरेखा भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने कुरामा जोड दिए ।

दाहालले रेन्जरहरुको विश्व सम्मेलन नेपाल, त्यसमा पनि नेपालकै पहिलो र पुरानो चितवन राष्ट्रिय निकुञ्जको समिपमा रहेको सौराहामा हुनु आफैँमा निकै गौरवको कुरा भएकोले अब विश्वभरिका रेन्जरहरुले आफूले भोगेका समस्या र चुनौतीहरु, बिचार तथा संरक्षणका उत्तम अभ्यासहरुलाई एकापसमा बाँडेको खण्डमा वन्यजन्तु संरक्षणमा कोशेढुङ्गा सावित हुने बताए ।
कार्यक्रमको आयोजक संस्था अन्तर्राष्ट्रिय रन्जेर फेडेरेसन (आईआरएफ) का अध्यक्ष सिएन वाईलमोरले रेन्जरहरुले सामना गरिरहेको मुख्य विषयहरुमा प्रकाश पार्नु, रेन्जरहरुको व्यावसायीकरणको आवश्यकतामा जोड दिनु, संरक्षित क्षेत्रहरुमा भोगिने साझा समस्याहरुको सामना गर्नका निम्ति समाधानका नयाँ उपायहरुका बारेमा जानकारी लिनको लागि रेन्जरहरुलाई मञ्च प्रदान गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए ।

कार्यक्रमका बोल्दै वनमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल सरकार सो कार्यक्रमको आयोजक हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपालको ४० प्रतिशत भूभाग वनले ढाकेको जानकारी दिँदै २१ प्रतिशत वनको संरक्षण गर्न नेपाल सफल रहेको जिकिर गरे ।

बस्नेतले नेपालमा सामुदायिक वनको अवधारणा रहेकै कारण बनको ठूलो हिस्सा संरक्षण हुन सकेको बताए । उनले बाघको संख्या दोब्बर बनाउने अभियानमा नेपाल प्रथम भएको जानकारी दिँदै यसको मुख्य श्रेय रेन्जरलाई जाने बताए ।
प्रतिनिधिसभा सांसद् तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रमण वर्ष २०२० को संघारमा विश्वका ७० देशका रेन्जरहरुको उपस्थितिले निकै हर्षित तुल्याएको जानकारी दिँदै भ्रमण वर्षमा सबैलाई आ–आफ्नो देशमा नेपालको भ्रमण गर्ने सन्देश लैजान आग्रह गरे ।

उनले नेपालको महत्वपूर्ण पाटो भनेको वन र त्यसमा पनि वन्यजन्तु नै भएको बताउँदै गैँडा, बाघ तथा अन्य वन्यजन्तुको संरक्षणमा रेन्जरले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।
आयोजक संयोजक एवम् वन तथा वातावरण मन्त्रालयका सहसचिवसमेत रहेका डा. महेश्वर ढकालले कार्यक्रममा उपस्थित सबै रेन्जरहरु भ्रमण वर्ष २०२० को एम्बेस्डर बनि आ–आफ्नो देशमा जाने बताए ।

उनले पाँच दिनसम्म चल्ने यो सम्मेलनमा सात वटा विधामा छलफल हुने बताए । उनले कार्यक्रमको अन्तिम दिन चितवन घोषणापत्र जारी गर्दै सम्मेलन समाप्त हुने जानकारी दिए ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विश्वभरबाट चितवनको सौराहामा आएका रेन्जहरुले सौराहाको पर्यटनको विकासका लागि महत्वपूर्ण योगदान रहनेमा आफूहरु विश्वस्त रहेको बताए ।

उनले चितवन धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणबाट पनि निकै महत्व बोकेको ठाउँ भएकोले यसको महत्वलाई विश्वभर लैजान आगन्तुक सबैलाई आग्रह गरे ।

9th World Ranger Congress,12-16 Nov, 2019Live from Chitwan Sauraha

Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Montag, 11. November 2019

तपाईको प्रतिक्रिया