काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सरकार विधि र कानुनअनुसार चल्न नसकेको बताएका छन् ।

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेता केसीले विधिको शासनबाट मुलुक अगाडि बढ्न नसकेको आरोप लगाएका हुन् । उनले भने, “व्यक्तिबाट होइन विधिअनुसार मुलुक सञ्चालन हुनुपर्छ ।”

दुई तिहाइको जनमत पाएको वर्तमान सरकार दुई तिहाइको बलमा सबै संस्थालाई नियन्त्रण गर्ने दिशामा अगाडि बढेकोले यसलाई रोक्न कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनले बताए ।

नेता केसीले कांग्रेसभित्र सुधारको खाँचो रहेको बताउँदै १४औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढेमात्र आउँदो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबीसमेत गरे ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले सरकार ट्रेड युनियनलाई खारेज गर्ने दिशामा अगाडि बढ्न खोजेको बताए । उनले कांग्रेसले अगाडि बढाएको सामाजिक सुरक्षा कोषलाई वर्तमान सरकारले शुभारम्भ गरेर आफूले ल्याएको भन्दै प्रचारबाजी गरिरहेको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले गुणस्तरीय दूध उत्पादन गरेर उपभोक्ताको हकअधिकारलाई सुनिश्चित गर्ने दिशामा बोर्डले काम गरिरहेको उल्लेख गरे ।

संस्थानले हाल देशभरका झण्डै पाँच लाख किसानबाट उत्पादित दूध खरिद गरी आम उपभोक्तालाई बिक्री गर्दै आएको संघका अध्यक्ष तेजनाथ ढकालले जानकारी दिए । दुई दिनसम्म चल्ने महाधिवेशनले संघको नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया