महेश पाण्डे

चितवन । खैरहनी नगरपालिकाले मन्त्रालयबाट काम गर्न पठाएको कर्मचारी राम भजन साहलाई हाजिर गर्न नदिएको पाइएको छ ।

नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत असोज १५ गतको निर्णयअनुसार भनेर साहलाई रत्ननगर नगरपालिकाबाट खैरहनी नगरपालिकामा छैंठौँ तहको पशु अधिकृतको रुपमा समायोजन गरेर पठाएको थियो । तर, खैरहनीका मेयर लालमणि चौधरी र कार्यकारी अधिकृत पुरुषोत्तम शर्माले आफूलाई हाजिर गर्न नदिएको साहले आरोप लगाएका छन् ।
साहका अनुसार उनी गत असार मसान्तसम्म खैरहनी नगरपालिकाममै पशु सेवा विभागमा कार्यरत थिए । उनी खैरहनी नगरपालिकाले गत साउन ११ गते रमाना लिई रत्ननगर नगरपालिकामा समायोजनका लागि गएका थिए । त्यसपछि उनी हालसम्म पनि रत्ननगर नगरपालिकाको पशुसेवा कार्यालय, पिठुवामा कार्यरत छन् ।

तर, गत असोज २८ गते मन्त्रालयले उनलाई पुनः खैरहनी नगरपालिकाको छैंठौँ तहको पशु अधिकृतको रुपमा समायोजन गरी पठायो तर उनी त्यो पत्र लिएर खैरहनी नगरपालिका पुगी मेयर लालमणि चौधरीलाई भेट्दा कार्यकारी अधिकृत पुरुषोत्तम शर्मालाई भेट्न भनेको तर कार्यकारी अधिकृत शर्मालाई भेट्दा हाजिर गर्न नमिल्ने जवाफ दिएको बताए ।

आखिर किन नगरपालिकाले हाजिर गर्न दिएन त ? भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा साह भन्छन्, ‘खासमा पाँचौँ तहको दरबन्दीमा आएका टेकबहादुर ओलीलाई छैंठौँ तहमा हाजिर गर्न दिएका रहेछन् । पाँचौँ तहको दरबन्दीमा आएका ओलीलाई किन र के स्वार्थमा हाजिर गर्न लगाउनुभयो मलाई थाहा भएन ।’

उनले अब आफूसँग खैरहनी नगरपालिकामा गएर गुनासो पोख्ने ठाउँ नै नभएको बताउँदै हालसम्म रत्ननगरमा पद खाली भएको कारण काम गरिरहेको भए पनि यो ठाउँमा अरु समायोजन भई आउँदा आफू घर न घाटको हुने अवस्था आउने जिकिर गरे । तर, उनले मन्त्रालयमा आफ्नो कुरा भइरहेकाले केही समय कुर्न भनेको बताए ।

यही विषयमा हामीले खैरहनी नगरपालिका गएर बुझ्दा मेयर लालमणि चौधरीले खासमा पाँचौँ तह र छैंठौँ तह एउटैजस्तो भएकोेले र उहाँ हाजिर गर्न ढिला आएका कारणले गर्दा नै यो समस्या आएको बताए । उनले नगरपालिकामा एउटामात्र दरबन्दी रहेको र त्यसमा दुई जनालाई राख्न नसकिने बताए । चौधरीले यदि मन्त्रालयले अनिवार्य राख्नको लागि आदेश दिए त्यो मान्ने तर तलब पनि उतैबाट आउनुपर्ने बताए ।


खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम शर्मासँग किन तपाईंले उहाँलाई हाजिर गर्न नदिई पाँचौ तहलाई दिनुभएको हो ? भनेर जिज्ञासा राख्दा उनले भने, ‘अधिकृतस्तरमा एकमात्र दरबन्दी भएका कारण गर्दा पाँचौँ तहलाई छैंठौँ तहमा समायोजन गरिएको हो । अरु कुनै कारण यसमा छैन ।’

उनले साह तराई मुलका मान्छे भएकोले खैरहनी वा रत्ननगर जहाँ बसे पनि समस्या नहुने बताउँदै यदि उहाँलाई खैरहनीमैै हाजिर गर्न मन भएको भए अब छैंठौँ तहमा हाजिर गर्न सम्भव नभएकाले वडामा सचिवको रुपमा काम गर्न पठाई हाजिर गर्ने माहोल बनाउन सकिने बताए ।

समग्रमा मन्त्रालयले पठाएको कर्मचारी समायोजन प्रक्रिया र खैरहनी नगरपालिकाले हाजिर गर्न नदिनुले केन्द्र र स्थानीय तहमा अझै धेरै समस्या रहेको वा भनौँ समन्वय हुने नगरेको प्रष्ट हुन्छ । यदि यस्तै भइरहने हो भने यसले कर्मचारीको मनोबल भने अवश्य घट्ने देखिन्छ ।

भारतीय विस्तारवादको विरोधमा नेपाली युवाहरुको प्रदर्शन भिडियोमा हेर्नुहोस् । सक्दो शेयर गरी विश्वव्यापी बनाएर भारतलाई चर्को दबाब दिऔँ ।

तपाईको प्रतिक्रिया