काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सल्लाहकारको सामूहिक राजीनामा मागेपछि अब मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुन कुन मन्त्रीलाई हटाउने भन्ने विषयमा मोटामोटी सहमति जुटिसकेको छ ।
ओली र प्रचण्डले कुन कुन मन्त्रीलाई हटाउँदैछन् भन्ने निकै गोप्य राखिएको छ । उपनिर्वाचनका बेला असर गर्ने ठानेर ओलीले कार्यसम्पादन मूल्यांकनमा असफल भएको भन्दै मन्त्री हटाउन लागेको बुझिएको छ ।
बालुवाटार निकट स्रोतका अनुसार १० जना मन्त्री हेरफेर गरिने भएको छ । यसरी हेरफेर गर्दा पूर्वएमालेबाट सात र पूर्वमाओवादी केन्द्रबाट तीनजना मन्त्रीले बिदा पाउने भएका छन् ।
माओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री बिना मगर हट्ने सूचीमा परेका छन् ।
पूर्वएमालेबाट मन्त्री बनेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई हटाइने भएको छ । अर्थमन्त्रीमा नेकपाका महासचिव विष्णु पौडेललाई ल्याउने सहमति ओली र प्रचण्डबीच भएको छ ।
ओलीले वर्तमान मन्त्रिपरिषदका १० मन्त्री बिदा गरेर आठजनालाई यथावत् राख्ने तयारी गरेका छन् । यद्यपि तीमध्ये केहीको मन्त्रालय हेरफेर हुन सक्नेछ ।
पूर्वएमालेबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल तथा पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेतलाई यथावत् राख्ने भएका छन् ।