काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच आज राष्ट्रपति निवासमा अपराह्न भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बंगलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । हमिदले अतिथि पुस्तिकामा समेत हस्ताक्षर गरे ।
विगतदेखि नै नेपाल र बंगलादेशबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेकामा हमिदलाई धन्यवाद दिइन् ।
दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताइन् ।
बंगलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता संग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरणसमेत गरे ।
बंगलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताए । नेपाल भ्रमण गर्ने निम्ता दिएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उनका बंगलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बङ्गलादेशका उच्च अधिकारीको समेत सो अवसरमा सहभागिता थियो ।
यसअघि राष्ट्रपति हमिदको उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता भएको थियो । त्यस्तै आजै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवासँग उनको शिष्टाचार भेटवार्ता भएको थियो ।
उनीहरुसँगको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो ।
जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निमन्त्रणामा नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई उनको सम्मानमा बुधबार काठमाडौँस्थित होटल याक एण्ड यतिमा रात्रिभोज आयोजना गरिन् । भोजमा प्रधानमन्त्री ओली उपस्थित थिए ।
मंगलबार नेपाल आइपुगेका राष्ट्रपति हमिदले मंगलबार दिउँसो भक्तपुर दरबार क्षेत्र अवलोकन गरेका थिए भने बेलुका परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका थिए । उनी कात्तिक २९ गते स्वदेश फर्किंदैछन् ।