चितवन । बालकुमारी मावि नारायणगढको स्वर्ण महोत्सवको अवसरमा बिहीबार भरतपुर महानगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
भरतपुर महानगरभित्रका २३ वटा विद्यालयका ३७ जना विद्यार्थी सहभागी रहेको प्रतियोगितामा अरोमा बोर्डिङ स्कुलका आरती काफ्ले प्रथम, एसओएस बालग्रामका अलका आचार्य द्वितीय र स्मल हेभन बोडिङ स्कुलका पल्लव क्षेत्री तृतीय तथा परीक्षा पौडेल र आकृति सापकोटाले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा साहित्यकार गोविन्दराज विनोदी, केदारनाथ खनाल र रमेश प्रभातले निर्णायकको भूमिका निभाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् विजय सुवेदीले बालकुमारी माविमा पुनर्जागरणको आवश्यकता रहेको औँल्याउँदै विद्यालयको पुरानो साख र प्रतिष्ठा जोगाउन आवश्यक रहेको बताए । उनले ४६ वर्षअगाडिको स्मरण गर्दै आफू पनि सोही विद्यालयमा कक्षा ६ मा अध्ययन गरेको बताए ।

विद्यालयका प्राचार्य नारायणबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधान, सहायक प्रअ एवम् शिक्षक अभिभावक संघका अध्यक्ष उद्योगकुमार पिया, बालमाविद् एल्मुनाई एसोसियसनका अध्यक्ष बद्रीलाल प्रधान, पूर्वप्रधानाध्यापक शरदरञ्जन श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

स्वर्ण महोत्सवका अवसरमा विद्यालय हातामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमसमेत राखिएको थियो ।

तपाईको प्रतिक्रिया