चितवन । चितवन प्रहरीले राप्ती नगरपालिका वडा नं ६ हर्दीबाट अवैध हतियारसहित दुई युवा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगर १२ का ३७ वर्षीय मधुकर केसी र सल्यानको कपुरकोट गाउँपालिका ५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।
इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी हबलदार नवलकिशोर दासको कमाण्डमा खटिएको तीन प्रहरीको गस्ती टोलीले हर्दीस्थित तामाङ ब्लक उद्योगअगाडि राजमार्ग छेउमा बा ८५ प ८०८४ नम्बरको पल्सर मोटरसाइकल रोकिराखेको देखेर चेकजाँच गर्ने क्रममा राजमार्ग नजिकैको धानको परालमा लुकिरहेको अवस्थामा निजहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको शरीर खानतलासी गर्दा अमेरिकन पेस्तोल एक थान, म्यागेजिन एक थान र त्यसमा लाग्ने पाँच राउण्ड गोली बरामद गरेको हो । प्रहरीले हतियार र मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा कारबाही गरिने प्रहरीले जनाएको छ ।
उक्त कसुरमा बरामद हातहतियार जफत गरी ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजायँ हुने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ एवम् प्रवक्ता तथा सूचना अधिकारी एकनारायण कोइरालाले जानकारी दिए ।